चुनावको विपक्षमा उभिएपछि ओली ५ करोड काण्डमा डुबे..!

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ

Olijee

काठमाडाैं। झण्डै तीन वर्षे प्रतिवन्ध झेलेर खुला राजनीतिमा आएको विप्लव समूह यतिबेला चुनाव उपयोग कि बहिष्कार ? भन्ने बहसमा छ । कपिलवस्तुमा हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनाव उपयोगको नीतिसहित पेश गरेको राजनीतिक प्रतिवेदन टालटुल पारेर पारित भएको छ । चुनावको पक्ष–विपक्षमा बहस गर्माइरहेका बेला बैठकमा सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शनले एकै ठाउँबाट पाँच करोड बटुलेको विषय कडिकडाउसँग उठेपछि यो काण्डको पर्दाफास भएको हो । वली चुनावको विरुद्धमा हार्डलाईनरको रुपमा देखिएपछि उनी ५ करोड काण्डमा डामिएका हुन् ।

सचिवालय सदस्य सुदर्शनले पार्टीलाई थाहै नदिई काठमाण्डौको दरवारमार्गस्थित पाँच तारे अन्नपूर्ण होटलको विवादित मुद्धा मिलाइदिने शर्तमा पाँच करोड लिएको आरोप लागेको हो ।

बैठकमा चर्कैसँग कुरा उठेपछि आफ्ना कार्यालय सचिव केदार शिवाकोटी सबै पैसा कुम्ल्याएर वैद्यको पार्टीतिर छिरेको सुदर्शनले स्पष्टीकरण दिएका थिए । विप्लवको बैठकले भने एक महिनाभित्र सो रकम फर्काउन वैद्यबालाई समय दिने निर्णयसहित यो प्रकरणमाथि बिराम लगाएको छ ।

होटल एशोसिएसन नेपाल (हान) की सृजना राणा र नाम नखुलेका एक जनाबीच अन्नपूर्ण होटलको स्वामित्वका विषयमा झगडा चर्किएको थियो । चन्दा उठाउन अनुभवी कमरेडहरु यो घटनामा नजोडिने कुरै भएन । यस्ता विवाद मिलाउन विप्लवहरुले पार्टीमा न्यायिक विभाग नै खडा गरेका छन् । तर, यो मुध्दा भने विभागसम्म पुग्नै पाएन, सचिवालय सदस्य वलीले वीचमै हाइज्याक गरे । पाँच करोडमा डिल टुंग्याएका उनले पीडित पक्ष र पार्टीलाई ५०–५० लाख दिएर बाँकी आफैँले राख्ने गरी कुरो मिलाएको छ ।

नेकपाका एक नेताले भनेअनुसार यो मुध्दा पार्टीको न्यायिक विभागले हेर्नुपर्ने हो । तर, शुरुमा विप्लवका माहिला दाजु जयन्द्र चन्द, जो खेलकुद मोर्चाका अध्यक्ष छन् उनी आफैं अग्रसर भए । त्यसबापत खेलकुद संगठनलाई खर्चपर्च मिलाउने गरी दुई पक्षबीच कुराकानी भैरहेको थियो । न्यायिक विभागका चुडामणि वली ‘आदर्श’लाई गुमराहमा पारेर जयन्द्र केस मिलाउन आफैँ कस्सिएपछि अर्का वली अर्थात हेमन्तप्रकाश अगाडि सरेको आरोप छ ।

वलीको टोलीले मुध्दा मिलाएर पाँच करोड बुझ्यो, त्यो पनि नेपाली कागजमा बकाइदा लेखेर । पैसा बुझेपछि आफूनिकट शिक्षक नेता गुणराज लोहनीमार्फत ५० लाख विप्लवलाई पु¥याउन पठाइयो । यसबारे नजिकबाट जानकारी लिइरहेका जयन्द्रले तत्कालै पैसा नलिन विप्लवलाई खबर गरे । पीडितलाई नै मर्का पर्ने गरी पैसा लिएको र ठूलो रकम लुकाएर पार्टीलाई जम्मा ५० लाख दिन लागेको बुझ्नासाथ विप्लव पनि झस्किए । र, ’पछि छलफल गरौंला, यो पैसा सम्बन्धित मान्छेलाई फिर्ता दिनु’ भनेर जस्ताको त्यस्तै झोला फर्काइदिए । त्यहाँबाट बाहिर आएको यो काण्ड पछिल्लो केन्द्रीय कमिटी बैठकसम्म पुग्दा छताछुल्ल भएको हो ।

यसअघि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ पर्दा राणासँग ५ करोड चन्दा लिएको कागजात प्रहरीले फेला पारेको थियो ।

तर, वलीले डिल गरेर प्रकाण्डतिर क्षेप्यास्त्र हानेको विप्लव माओवादीका एक नेताले बताए । पार्टी च्यानल बाहिरबाट वलीले रकम लिएपछि उतिबेलै विप्लवलगायतका केही नेताले प्रश्न उठाएका थिए । शुरुमा नेतृत्व तहमा मात्रै सीमित यो विषय थामथुम पार्न खोजिएको थियो, तर कपिलवस्तु बैठकमा विप्लवको प्रतिवेदनको विपक्षमा वली उभिएपछि यसले राजनीतिक रंग लिएको बताइन्छ ।

बैठकमा बोल्ने धेरै नेताले १०–२० हजार चन्दा उठाउने कार्यकर्तालाई अनुशासनको डण्डा बर्साउने तर नेताहरुले करोडौँ तलमाथि पार्दा पनि चुपचाप बस्नुपर्ने कारणबारे प्रस्ट्याउन कडिकडाउ माग गरेका थिए । चन्दा काण्डले विप्लवका थुप्रै नेता–कार्यकर्ता पटक–पटक कारवाहीमा परिसकेका छन् ।

यसअघि कपिलवस्तुकै एक जना जिल्ला सदस्यले ५० हजार उठाएर खाएको आरोपमा निश्कासनमा परेका थिए भने जनपत्रकार संगठनका तत्कालीन अध्यक्ष प्रकाश डुम्रे चन्दाकै विषयले संगठनबाट निकालिएका थिए । डुम्रेले दुई वर्षअगाडि अत्तरियाको सुकुम्बासी बस्तीको जग्गा मालिकसंग सुटुक्क चन्दा लिँदा प्रश्न उठेपछि जिम्मेवारीबाट हात धुनुपरेको थियो ।

पाँच करोड घोटाला काण्ड चर्किंदै जाँदा कपिलवस्तु निस्कनुअघि विप्लवले बोलाएर पैसा फिर्ता दिन गरेको आग्रह वलीले नमानेको बताइन्छ ।

बरु भ्रष्टाचारको विषय उरालेर आफूलाई पार्टीबाट निकाल्न खोजिएको भन्दै वली मोहन वैध्य नेतृत्वको क्रान्तिकारी माओवादीमा जान खोजेको विप्लवका एक नेताले बताए ।

उनका अनुसार अहिले चुनाव उपयोगको प्रस्तावको विपक्षमा उभिने वलीको अडान पनि यो मुध्दासँग जोडिएको जनआस्थाले छापेको छ ।

प्रतिकृया दिनुहोस