माधव नेपाल नै एकीकृत समाजवादीको चुनावी कमाण्डर, यस्तो छ उम्मेद्वार छान्ने मापदण्ड

Madhav kumar nepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले अध्यक्ष नेपालको नेतृत्वमा १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन् ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीले स्थानीय निर्वाचनलाई लक्षित गरी मूल निर्वाचन परिचालन कमिटी, केन्द्रीय सचिवालय गठन गर्नुका साथै स्थानीय तहमा उम्मेदवार सिफारिसका लागि मापदण्ड पनि तय गरेको छ । एकीकृत समाजवादीले स्थानीय तहमा उम्मेदवार सिफारिस गर्दा ८ मापदण्ड तय गरेको छ ।

यस्तै एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने कमिटीले पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेका, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेका नेताहरूलाई सिफारिस गर्नुपर्ने मापदण्ड तय गरेको छ । त्यस्तै, पार्टीप्रति निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमतामा राम्रो भएका व्यक्तिलाई सिफारिस गर्न र त्यस क्रममा समावेशितालाई ध्यान दिनुपर्ने मापदण्ड तय गरिएको छ ।

 

प्रतिकृया दिनुहोस