दाजुको बलिदानीलाई बार्गेनिङ गर्ने प्रमाेद शर्मा चरम अवसरवादीकाे नमुना

को हुन् प्रमोद शर्मा ?

Pr

काठमाडाैं । “आमाको दूधले नपुगेर बाउँको घुँडा चुस्ने” भन्ने नेपाली उखानलाई नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले फेरि एकपटक सावित गरेका छन् । तत्कालीन माओवादीले शान्ति सम्झौता गरेर मूलधारको राजनीतिमा आएपछि निरन्तर लाभका पदहरुमा बसी “तर” मार्दै आएका शर्मा अचानक नेकपा (एमाले)मा प्रवेश गरेपछि उक्त उखान पुनः पुष्टि भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा आज अचानक एमालेमा प्रवेश गरेका छन् । शर्मा एमाले प्रवेश गरेपछि यतिबेला सामाजिक सञ्जाल तातिएको छ । राजधानीमा आज बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गरेका शर्मा हाल नेकपा (माओवादी केन्द्र)को घोराही उपमहानगर कमिटीको अध्यक्ष रहेका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता शर्मा घोराही माओेबादिबाट उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार रहेकी थिइन् । त्यसबेला सीता पराजित भएकी थिइन् ।

पार्टीबाट असन्तुष्ट भनिएका शर्माले केही दिनअघि मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत लगातार स्टाटस लेखेर माओवादी केन्द्रमा असन्तुष्टि व्यक्त गरेका थिए । अर्को दिन बिहान फेसबुकमै स्टाटस लेखेर पार्टीबाट राजीनामा दिई पाटी परित्याग गरेको घोषणा गरेका थिए ।

पार्टीमा सबैभन्दा धेरै अवसर पाएका व्यक्ति
पार्टी प्रवक्ता महरा जतिपटक मन्त्री भए त्यति नै पटक उनी सचिवालयको महत्वपूर्ण जिम्मेवारीमा रहेका थिए । महरा सभामुख रहँदा उनी प्रमुख स्वकीय सचिवका रुपमा क्रियाशील रहेका थिए ।

पार्टीको घोराही नगर अध्यक्ष
माओवादी केन्द्रको घोराही नगर कमिटीमा उनी अध्यक्ष जस्तो जिम्मेवार पदमै रहेका थिए । उनले प्रदेश समितिमा जान चाहेको भए जतिबेला पनि लैजान सकिने अवस्था रहेको माओवादी केन्द्रनिकट स्रोत बताउँछ । शर्माले स्टाटसमार्फत पार्टीमा असन्तुष्टि व्यक्त गरेकै दिन माओवादी केन्द्रको दाङ जिल्ला समितिको बैठक बसेको थियो । उक्त बैठकमा शर्माले जिल्ला सचिवमा इच्छा व्यक्त गरेको भए पनि उनलाई सो पद दिन कुनै समस्या नरहेको माओवादी केन्द्र दाङका एक नेता बताउँछन् । माओवादी स्रोत भन्छ, “शर्माका समकालीनहरुको सन्दर्भमा कुरा गर्ने हो भने सबैभन्दा बढी अवसर पाउने नेता उनै हुन् । प्रमोदले दाजुको बलिदानीलाई बार्गेनिङ गर्दै आए र लाभका पदहरु पनि पाए । चरम व्यक्तिवादी र अवसरवादी सोचका कारण उनले पार्टी परित्याग गरेका हुन् ।”

को हुन् प्रमोद शर्मा ?

एमाले प्रवेश गर्ने प्रमोद शर्माले जति अवसर माओवादी केन्द्रमा त्यस्तो अवसर कमैले पाएका छन् । लामो समयसम्म कृष्णबहादुर महरा विभिन्न मन्त्री रहँदा उनको स्वकीय सचिव भएर काम गरेका थिए शर्माले । महरा जतिपटक मन्त्री बने त्यति नै पटक शर्मा स्वकीय सचिव बनेको माओवादी केन्द्रनिकट नेताहरु बताउँछन् । पूरै परिवार माओवादी आन्दोलनमा रहेकाले पनि उनले त्यो अवसर प्राप्त गर्दै आएका थिए । रुकुमबाट दाङ बसाई सरेका प्रमोदका बुवा हरिप्रसाद शर्मा दाङको घोराहीमा बसाइँ सरेर आएका थिए । बुवा हरिप्रसाद शर्मा पनि माओवादी सरकारको पालामा गुठी संस्थानको अध्यक्ष पदमा नियुक्त भएका थिए ।


प्रमोदकी आमा पनि माओवादी केन्द्र दाङको जिल्ला सल्लाहकारको रुपमा क्रियाशील छिन् । प्रमोदका ठूलो दाइ प्रदीप शर्मा माओवादी आन्दोलनको शुरुवाती चरणमा प्रहरीबाट मारिएका थिए । उनलाई पार्टीले शहीदको सम्मान दिँदै आएको छ । प्रमोदका माहिलो दाइ प्रकाश शर्मा अहिले पनि माओवादी केन्द्रमै रहेका छन् । प्रकाश घोराही उपमहानगरपालिका वडा नम्बर १५ को सचिवालय सदस्य छन् । उनका कान्छो भाइ प्रवीण शर्मा माओवादी केन्द्रको दाङ जिल्ला समन्वय समितिको सदस्य छन् । प्रवीण गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका वडा नं. १५ को वडाध्यक्षमा प्रत्याशी रहेका थिए । प्रवीण अखिल क्रान्तिकारीका नेतासमेत हुन् ।

प्रमोदकी पत्नी सीता चौधरी पनि शहीद परिवारकी सदस्य हुन् । सीताका दाजु पनि माओवादी केन्द्र घोराही नगर कमिटीका सचिव छन् ।

प्रतिकृया दिनुहोस