फिक्कलमा गरे ओली र नेम्वाङले झलनाथ खनालको कटाक्ष, अलिकति टोकी हेरे दाँत उछिट्याइदिने धम्की

Kp oli ilam

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाललाई निक्कै व्यंग्य गरेका छन् ।

इलामको फिक्कलमा आयोजित चुनावीसभामा एमाले अध्यक्ष ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् । ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिए ।

ओलीले एमालेका कार्यकर्तामाथि नङ नगाड्न चेतावनी समेत दिए । ‘एमालेका कार्यकर्तामा नङ नगाडे हुन्छ । अलिकति टोकी हेरे हुन्छ, दाँत उछिट्टिन्छन्’,ओलीको भनाइ छ ।

एमालेले लगाएको सांसदको फुली बोकेर ? अनि फुकाल्नुपर्दैन त्यो ? अनि विचार गर्नुस् त कति सारो लाज नभएको होला ?’, ओलीले भने, ‘कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनुपर्छ । अनि एमालेको वाकस खाली गर्छौ भन्ने ? नुन विर्सने, गुन विर्सने स्वार्थका तत्वहरूलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’

अध्यक्ष ओलीले केही शक्तिहरु नेकपा एमालेको वैचारिक क्षमता, सुशासनको नीति देखेर आतंकित भएको पनि बताए । एमालेको काम देखेर आतंकित बनेकाहरुले एमालेलाई सरकारबाट हटाएको भन्दै उनीहरुले कम्युनिस्टको बर्कोमात्रै ओढेको आरोप लगाए । ‘कम्युनिस्टकै वर्को ओढेका अन्तरे जन्तरे कम्युनिस्ट सरकार ढाल्न लागि परे ।

सोही कार्यक्रममा नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिए । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै निर्वाचन क्षेत्र इलाम–१ मा पुगेर नेम्वाङले मतपेटिका खाली गर्न चुनौती दिएका हुन् ।

उनले खनालको क्षेत्रमा एमालेमा जनसागर उर्लिएको दाबी गरे । जुन देखेर खनाल छक्क परिरहेका होलान् भन्दै कटाक्ष गरे । ‘इलाममा मात्र होइन, मेची महाकाली, तराई९मधेसदेखि हिमालसम्म मानिसहरूको जुन ओइरो एमालेमा प्रवेश गरिरहेको छ । त्यो देखेर छक्क परिरहनु भएको होला हाम्रा मित्रहरू’, पार्टी अध्यक्ष ओलीलाई छेउमा राखेर नेम्वाङले भने, ‘मैलै नाम चाहिँ बिर्सें । उहिलेदेखिको साथी, झल्झली अनुहार याद आउँछ । कमरेड जन्तरे हो कि अन्तरे हो नाम चाहिँ थाहा छैन ।’

प्रतिकृया दिनुहोस