प्रचण्डले भने, यो निर्वाचन माओवादीका लागि ‘लाइफ एण्ड डेथ’ हो

Prachanda 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ को सवाल भएको बताएका छन् ।

आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे । त्यसका लागि देशी विदेशी प्रतिक्रियावादी लागिपरेको प्रचण्डको भनाइ छ ।

प्रचण्डले आक्रामक भएर चुनावमा जानुपर्ने बताए । प्रचण्डले भने, ‘हामी आक्रामक हुँदा मात्र जित्छौं, रक्षात्मक मात्र भएर होइन । ‘अहिले दुई वटा पार्टी मात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ ।’

माओवादी केन्द्रलाई हराउने र दुई पार्टी मात्र गराउने षड्यन्त्र भइरहेको भन्दै उनले भने, ‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादी माथि छ । यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ । हामी जित्छौं ।’ उनले गटबन्धनमा देलान र खाउँला भन्ने मानसिकता त्याग्न समेत नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताए । उनले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताए ।

‘पार्टीभित्र वैचारिक अस्पष्टता बढ्दो छ । अराजकता, गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ’, आक्रोशित भावमा प्रचण्डले भने, ‘यही पार्टी हो जहाँ युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेको जमात हुन्थ्यो । अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात भयो ।’

नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिप्रति प्रचण्डले आक्रोश पोखेको एक नेताले बताए । ‘अनौठो लाग्छ तिनै साथीहरू अहिले पद र पैसा नपाउँदा अर्कै ढङ्गले व्यवहार गर्छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको गुनासो थियो । क्रान्तिको कुरा गरिरहेपनि पार्टी बिस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको प्रचण्डको भनाइ थियो ।

सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएको उल्लेख गर्दै प्रचण्डले पछि माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको र माओवादी पनि सच्चिन जरुरी रहेको धारणा राखे ।

प्रतिकृया दिनुहोस