एमालेले पुरानै तरिकाबाट स्थानीय तहका उम्मेदवार छान्ने, यस्तो छ मापदण्ड

Uml miting

काठमाडौं । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो ।

केन्द्रीय सचिवालयको बैठकले ०७४ सालकै विधिबाट स्थानीय तहका उम्मदेवारहरुको छान्ने निर्णय गरेको हो । कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने मापदण्डचाहिँ यसै साता बस्ने केन्द्रीय कमिटीको बैठकले तय गरेको हो ।

एमालेले ०७४ सालमा सम्बन्धित तहले नै उम्मेदवारको नाम सिफारिस गर्ने र त्यो भन्दा माथिल्लो कमिटीले निर्णय गर्ने तरिका अपनाएको थियो । जस्तै– पालिका तहका उम्मेदवारको सिफारिस पालिका स्तरीय कमिटीले गर्दथ्यो भने निर्णय चाहिँ त्योभन्दा माथिल्लो कमिटीले गर्दथ्यो । यसपटक पनि यही विधिबाट उम्मेदवार छनोट गर्ने सचिवालयले निर्णय गरेको छ ।

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज, विराटनगर महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । त्यसैगरी नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ । ती उम्मेदवारहरुको सिफारिस जिल्ला कमिटीले गर्ने गुरुङले बताए । देशभर २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।

बैठकले चैत ७ मा पोलिटब्युरो र १३ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । विभाग, निकायहरुमा रहेका नेताहरुलाई आफ्ना जिम्मेवारीमा असर नपार्ने गरी निर्वाचन अवधिभर प्रदेश तथा जिल्ला कमिटीहरुको समन्वयमा आफ्नो सम्बन्धित भूगोलको काममा संलग्न गराउने तयारीमा एमालेले गरेको छ ।

बैठकले नीति अनुसन्धान प्रतिष्ठान (निर्देशक कमिटी) मा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, डा. राजन भट्टराई, डा. युवराज खतिवडा, डा। राजेश अहिराज र अजय शर्मालाई राख्ने निर्णय गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय चुनावको विषयमा एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

 

प्रतिकृया दिनुहोस