माओवादी प्रचण्ड भन्छन्, तत्काल एमालेसँग कुनै सहकार्य हुँदैन

Prachand

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । तर अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राखिने उनले बताए ।

‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल सहमति, सहकार्य हुने कुनै सम्भावना छैन,’ आज पार्टीको प्रदेश नम्बर १ को भेला तथा प्रशिक्षणमा पुगेका प्रचण्डले भने, ‘कांग्रेससँग कति होला कति नहोला त्यो आफ्नो ठाउँमा छ । मुद्दा मिल्नेहरूसँग मिलेर जाने नभए आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हो ।’

प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए ।

एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणा समेत गरे ।

नले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ ।

प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्न कोशिश गर्ने बताए । उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’ चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन पनि हुनसक्ने उनले बताए ।

अर्को प्रशंगमा प्रचण्डले सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भनिनुको तर्क नै नरहेको बताए । सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए ।

 

प्रतिकृया दिनुहोस