डा.बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन : कांग्रेस नजिक, कम्युनिष्ट सम्बन्घ नै टाढा

Dr baburam bhattarai

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले नेपालका सबै कम्युनिस्टहरू एउटै पेन्सिलका फरक फरक टुक्रा रहेको टिप्पणी गरेका छन् । जसपा संघीय परिषद्को बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा अध्यक्ष भट्टराईले नेपालका कम्युनिस्ट पार्टीलाई एउटै पेन्सिलका फरक फरक टुक्रा भएको बताएका हुन् ।

जारी संघीय परिषद्को बैठकमा पेश गरेको राजनीति प्रतिवेदनमा लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यताको रक्षाको प्रश्नमा कांग्रेससँग जसपाको सहकार्य हुनै नसक्ने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल हो । औपचारिक तवरले दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि २०४६ साल यताका उसका कुनै पनि व्यवहार र एजेण्डाले कांग्रेस समाजवादी दल भएको पुष्टि हुँदैन ।’

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बीचको समानता–यी दुवै मूलतः लोकतान्त्रिक धारका दल हुन् । तर, कांग्रेस ‘उदार लोकतन्त्र’ मा विश्वास गर्ने दल र जसपा ‘समावेशी लोकतन्त्र’ मा विश्वास गर्ने दल भएको उल्लेख गरेका छन् ।

नेपालमा धेरै कम्युनिष्ट समूह रहेका र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरु जसपाको दृष्टिकोणमा एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा भट्टराईले उल्लेख गरेका छन् । काँग्रेस र कम्युनिष्टको ब्रान्ड नामबाहेक काँग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गर्नुभएका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र काँग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनले तयार पारेको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा नेपालमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिस्ट समूह रहेको उल्लेख गर्दै साना कम्युनिस्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसद्मा प्रतिनिधित्व गर्ने र संसद्मा नभएका नेकपाका अन्य घटकहरू वैद्य, विप्लव, आहुति, माले आदि अनेक समूहहरू रहेको र यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै रहेको जिकिर गरेका छन् ।

यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारा÷माओवादबाट प्रभावित रहेको उल्लेख गर्दै उनले सन् १९९० को दशकमा सोभियत संघको पतनपछि एमालेले ‘जनताको बहुदलीय जनवाद’ मार्फत् ‘संसदीय प्रणाली’ को बाटो समातेको उल्लेख गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘माओवादी केन्द्र एमालेसँगको एकता, नेकपाको निर्माण र विभाजनपछि झण्डैझण्डै त्यही स्थितिमा पुगेको छ । औपचारिक रूपमा ‘जनताको बहुदलीय जनवाद’ स्वीकार नगरे पनि त्यसभन्दा फरक कुनै मौलिक विचारधारा माओवादी केन्द्रसँग बाँकी छैन । हाम्रो पार्टीको दृष्टिकोणमा एमाले मूलतः बहुदलीय जनवादमार्फत नेपाली काँग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएको छ ।’

एमसीसी प्रकरणमा माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै अध्यक्ष भट्टराईले देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय जनता पार्टी रुढीवादी धारको प्रतिनिधि दल भएको उनले आफ्नो प्रतिवेदनमा लेखेका छन् । पुराना शासक वर्ग र परिवार– राणा, शाह र पञ्चहरूको विरासतको गर्भबाट यो दलको उदय र अस्तित्व कायम भएको भन्दै उनले जनतामा निहित धार्मिक भावनाको राजनीतिक दोहन गरेर शक्तिमा फर्किन चाहने यो दल पछिल्लो चुनावमा निक्कै कमजोर भएको टिप्पणी गरेका छन् ।

शक्तिले सानो भए पनि विचारले यो दल सबैभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल रहेको टिप्पणी गर्दै अध्यक्ष भट्टराईले भनेका छन्, ‘यो मूलतः लोकतन्त्रविरोधी, सामन्ती तथा रुढीवादी निरंकुशतावादी विचारको दल हो । यो दल लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, समानुपातिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, बहुसाँस्कृतिवाद, समाजवाद र धर्मनिरपेक्षताको विरुद्धमा छ । यो दलले बेलाबेला ‘राजा आऊ, देश बचाऊ’ जस्ता भ्रम फैलाउने गर्दछ । लोकतन्त्र, गणतन्त्र र संघवादलाई बदनाम गर्न अनेक कुतर्क र प्रोपोगण्डा गर्ने गर्दछ । त्यसो हुने कुनै सम्भावना छैन ।’

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक पार्टीलाई अध्यक्ष भट्टराईले विचार, सिद्धान्त र एजेण्डा प्रष्ट नभएको पार्टी रहेको दाबी गरेका छन् । उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘लोसपा र जनमत पार्टीः हाम्रो पार्टीबाट विभाजित एउटा समूहले लोकतान्त्रिक–समाजवादी पार्टी (लोसपा) गठन गरेको छ । यो दलसँग विचार, सिद्धान्त र एजेण्डाको प्रष्टता छैन । मूलतः प्रतिगमनकारी ओली सरकारलाई साथ दिने कि नदिने भन्ने प्रश्नमा मतभिन्नता भई यो समूह हामीबाट फुटेको हो । ओली सरकारको दुई दुई पटकको असंवैधानिक संसद् विघटन गलत थियो, ओली सरकारमा सामेल हुनु त झनै आत्मघाती थियो भन्ने व्यवहारबाटै पुष्टि भइसकेको सन्दर्भमा यो पार्टीबारे थप विश्लेषण गरिरहन आवश्यक देखिन्न ।’

प्रतिकृया दिनुहोस