कांग्रेस-एमालेबीचको बैठक : आज पनि मिलेन कुरा

Congress and uml miting

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।
शनिबारको छलफलमा काँग्रेसका तर्फबाट मन्त्री कार्कीसहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

छलफलपछि एमाले महासचिव शंकर पोखरेलले विगत ५/६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताए । साथै उनले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने बताए ।

‘दोस्रो संसद्‍मा प्रवेश बाटो बनाउनुस् त्यसपछि स्पष्ट दृष्टिकोण बनाउँछौ भनेका छौ’, महासचिव पोखरेलले भने, ‘लोकतान्त्रिक र राष्ट्रिय सन्दर्भमा छलफल गरिरहने भन्ने भएको छ । कुनै नयाँ निष्कर्षमा पुगेका छैनौ ।’

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

 

प्रतिकृया दिनुहोस