प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र ओलीबीच भेट

Congress uml barta

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकका लागि बानेश्वरस्थित संसद् भवन पुगेका प्रधानमन्त्री देउवाले बैठकमा छलफल गर्ने वातावरण नबनेपछि बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी छन् ।

संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो ।

सरकारले एमसीसी सम्झौता संसद्‍मा पेस गरे पनि त्यसमाथि छलफल र अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यसबारे सत्ता गठबन्धनभित्र चर्को मतभेद छ ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले साथ छाडेको अवस्थामा विपक्षी दलसँग मिलेर एमसीसीलाई निकास दिने गरी छलफल अघि बढाएको स्रोतको भनाइ छ । उनले एमालेसँग संवादकै लागि बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस