एमालेले आज पनि संसदमा विरोध जारी राख्ने, कार्यव्यवस्था बैठकमा नजाने

Kp oli

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबारका लागि बोलाएको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमाले नजाने भएको छ । पार्टीको कामको व्यस्तताले उक्त बैठकमा जान नभ्याइने एमाले सांसद एवं कार्यव्यवस्था समिति सदस्य खगराज अधिकारीले बताए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

कार्यव्यवस्था समितिको बैठकमा सरकारको तर्फबाट कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले एमसीसी प्रस्तुत गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । एमाले सांसद अधिकारीले भने‚ ‘हाम्रा माग यथावत् छन् । कार्यव्यवस्थामा जानु र नजानुको अर्थ छैन ।’

कार्यव्यवस्था समिति सदस्य कृष्णभक्त पोखरेलले भने‚ ‘हामीले सभामुखलाई राजीनामा गर्न भनेका छौं । हाम्रा माग सम्बोधन नगरेकाले सभामुखलाई नै नमानेको र राजीनामाको माग गर्दै आएकाले उहाँले बोलाएको बैठकमा नजानका लागि निर्देशन छ । सदनमा हाम्रो अवरोध भने जारी रहन्छ ।’

 

 

प्रतिकृया दिनुहोस