‘पञ्चायती शैलीका स्यालहुँईयालाई कमजोर तुल्याउन हामी सक्षम छौं’

Arjun rai dkt yes

जहाँ अवसर, त्यहाँ चुनौती र जहाँ चुनौती त्यहाँ अवसर पनि हुन्छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष अर्जुन राई यस्तो चुनौतीको सामना गरिरहेका छन्, जहाँ एमालेले क्लीन स्वीप पारेको जिल्ला हो । लामो समयदेखि एमालेको उच्च प्रभाव रहेको धनकुटामा नयाँ पार्टी एकीकृत समाजवादीलाई स्थापित गराउन कम्मर कसेर लागिपरेका छन् । नेकपा एमालेको दवदवा भएको धनकुटामा कसरी नेकपा एस स्थापित होला ? प्रस्तुत छ, यसै सेरोफेरोका केन्द्रित रहेर एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईसँग निशान न्युजका लागि अनिता भट्टराईले गरेको कुराकानी :

वर्तमान राजनीतिक अवस्थालाई कसरी नियालिरहनु भएको छ ?
राष्ट्रिय राजनीतिमा जुन फेरबदल, अस्थिरता, मुल्यहिनता जो चलिरहेको छ, यस्तो बिगतमा पनि हुन्थ्यो । तर गएको संसदीय निर्वाचनपछि नेकपाले जुन शक्ति आर्जन ग¥यो, त्यसपश्चात् सदाको लागि यस खाले राजनीतिक अस्थिरता र छक्का पञ्जाको शृंखला समाप्त हुने कुरामा हामी विश्वस्त थियौं । तर दुर्भाग्य, संसद बिघटन गरेपछि नेपालको राजनीति असाध्यै नराम्ररी गिजोलियो । हाम्रा आशा र विश्वास माथी गम्भीर कुठाराघात हुन पुग्यो । जुन ऐतिहासिक अवसर प्राप्त भएको थियो, त्यो सबै खेर गयो । यसको प्रभाव, दुष्प्रभाव अनन्तकालसम्म रहने निश्चित छ । पात्र र पार्टीहरु त फेल भए पनि केही छैन । तर राज्य प्रणाली, व्यवस्थाप्रति नै विकर्षण पैदा हुने खतरा आगामी दिनमा हुँदैन भन्ने कुनै ग्यारेण्टी छैन ।

तपाई नेकपा (एकीकृत समाजवादी) धनकुटाको अध्यक्ष हुनुहुन्छ । कस्तो छ धनकुटामा तपाईहरुको संगठनको अवस्था ?
हामी असाध्यै प्रतिकुल अवस्थामा नयाँ कम्युनिष्ट पार्टी र आन्दोलनको पुनर्जागरणको अभियानमा सामेल हुन बाध्य भयौं । तत्कालिन नेकपा एमालेको नबौं राष्ट्रिय महाधिवेशले जुन बिचार, दृष्टिकोण, मूल्य मान्यता र योजनाहरु फैसला गरेको थियो, त्यसको ठिक विपरित तलदेखि माथी सम्मका सरकारहरु परिचालित भए । कम्युनिष्ट भावना यो बीचमा प्रायः समाप्त गरियो । व्यक्तिवादले सामुहिक जीवन पद्वतिलाई असाध्यै नराम्ररी शिथिल बनायो । अवसरवादको नमुना यहि बीचमा उदाङ्गो भयो । अधिकांश नेता कार्यकर्ताहरु आफुलाई केन्द्र भागमा राखेर पार्टीलाई परिभाषित गर्न थाले । मैले के पाउने र अरुले नपाउने भन्ने कुरामा सबै भन्दा बढी बैठक र भेलाहरुमा माथापच्छी भए । यसले अन्तत्वगत्वा बिसर्जन कै दिशामा लाने निश्चित थियो । त्यसैले पनि हामी नयाँ पार्टी निर्माण गर्ने अभियानमा सामेल भयौं । स्वभावैले अहिले हामी नयाँ शक्ति निर्माणको अभियानमा लागेका छौं । केही शक्तिहरु सत्तामा पुगेपछि जसरी पनि राज्य शक्तिको दोहन गर्नुपर्छ भनेर लागेका छन् । त्यो अवसरवादको पराकाष्ठा हो । तर हामी बिस्तारै हाम्रा उद्देश्य, सोँच र योजनाहरुलाई जनताको बीचमा लाने काम गरिरहेका छौं । हामीप्रतिको आकर्षण बढ्दो छ । निकट भविष्यमै हामी जिल्लाको महत्वपूर्ण राजनैतिक शक्तिको रुपमा स्थापित हुनेछौं ।

धनकुटामा त नेकपा एकीकृत समाजवादीको सांगठनिक अवस्था निक्कै कमजोर छ भनिन्छ । यसको कारण के हो ?
हामी बिल्कुल कमजोर छैनौं । हाम्रा साथीहरु पार्टी निर्माणमा अहोरात्र लाग्नुभएको छ । केही दम्भी, अरुको अस्तित्व स्वीकार गर्न नसक्ने, क्षुद्र सोँचले ग्रस्त, रोगी मानसिकताले घर गरेकाहरुले यस्ता नियोजित हल्ला चलाउँछन् र चलाइरहेका पनि छन् । तपाईलाई थाहा होला पञ्चायतले आफ्नो व्यवस्थाको उत्तरार्धतिर ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ भन्ने खुब स्यालहुँईया चलाएका थिए । आज धनकुटामा सबै वडा जित्ने डंका पिट्नेदेखि अरु कोहि केही नेदेखेको प्रस्तुती गर्नेहरु सबै पञ्चायती स्यालहुँईयाका लागि हामी कमजोर हौला । तर, जनताले हामीलाई साथ दिइरहेका छन् र त्यस्ता पञ्चायती स्यालहुँईयालाई कमजोर तुल्याउन हामी सक्षम छौं ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । धनकुटामा तपाईले नेतृत्व गरेको पार्टीले कस्तो ल्याउला नतिजा ?
आजको मुख्य दायित्व समाजवादी आन्दोलन र अभियानलाई धराशयी बनाउने जुन प्रवृती र शैली देखियो, त्यसलाई ठिक ट्रयाकमा ल्याउने हो । दम्भ, अवसरवाद, व्यक्तिवादले जस्तो शिखर पाएको छ, त्यसलाई आधार शिविरमा झार्ने हो । यति नभै आगामी दिनमा परिवर्तन र रुपान्तरणको आन्दोलन ठिक ढङ्गले जानै सक्दैन । बैयक्तिक हितका लागि जसरी पार्टी र आन्दोलनलाई दोहन गरियो, यसको वस्तुनिष्ठ हिसाब किताब हुन जरुरी छ र त्यो हुन्छ । जहाँसम्म निर्वाचनको नतिजाको कुरा छ, त्यो हाम्रो आन्दोलनको स्पिरिटअनुसार नै प्राप्त हुनेछ । त्यस प्राप्तिको निम्ति हामी तयारी अवस्थामा छौं ।

धनकुटामा नेकपा एमालेको शक्ति बलियो भएका कारण तपाईहरुले कुनै ठाउँमा पनि जित्न सक्नुहुन्न भनिन्छ नि ?
शक्ति के लाई मान्नु हुन्छ तपाईं ? शक्ति बिचार, मूल्य मान्यता, आदर्श र योजना हो । जुन हामी सँग छ । तपाईलाई चेतना शून्य बनाउने हो भने तपाईं मासुको थुप्रोबाहेक केही होईन । आज एमाले ठिक त्यही पोजिसनमा छ । त्यति मात्रै होईन, यो बीचमा भएका सारा वेथितिहरु, जनता र पार्टीको भावाना विपरित गरेका कामहरु, कागज मिलाएर खाने र आसेपासेहरुलाई पोस्ने तमाम कामहरु, कमिशनका खेलहरु, पार्टी र सरकारी संयन्त्रहरुलाई निजी कम्पनीमा परिणत गर्ने जे जति कामहरु भएका छन्, ती सबको हिसाब हुने वाला छ । अब भन्नुस् जित कसको हुनेछ ? दिनको घाम जत्तिकै प्रष्ट छ ।

धनकुटाका स्थानीय तहले गरेका भ्रष्टचारलाई जनता समक्ष लैजान नै सक्नु भएको छैन भने कसरी स्थानीय तहको निर्वाचनमा तपाईहरुले जित हात पार्नुहुन्छ त ?
यस बारेमा मेरो धेरै भन्नु छँदै छैन । यति कुरा हो ईतिहासमा कहिले नभएको भ्रष्टाचार, कमिशन र लुट यहि बीचमा भएको छ । सरकारी श्रोतको नराम्ररी दोहन भएको छ । जुन कुराहरु सचेत जनताहरुले बुझेका छन् ।

अहिले पनि एमालेले धनकुटाका सबै स्थानीय तह जितेर अर्काे इतिहास रच्छौ भनिरहेका छन् । यसलाई कसरी लिनु हुन्छ ?
निकट भविश्यमा हुने हारबाट अहिले नै प्रताडित र छटपटीयुक्त अभिव्यक्ती हो भनेर बुझ्न हामीलाई गाह्रो छैन । खाईपाई आएको गुम्ने भयले पनि मान्छेहरु बर्बराउन थाल्छन् । कसैको पद जाने भो, कसैको पैसा गुम्ने भो । कसैको अनाधिकृत रुपमा खाएको जागिर जाने भो । बिल भर्पाई मिलाउन पाइँदैन । कमिशन नआउने भो । स्यालुट र नमस्कार नपाइने भो । आसेपासे, हुक्के चिलिमेहरुको धेरै थोक गुम्ने भो । अनि त बर्बराउनुबाहेक अर्को विकल्प नि छैन नि ।

गठबन्धन बनेन भने त धनकुटामा तपाईहरुलाई स्थानीय तहको निर्वाचन जित्न निक्कै गाह्रो पर्ला नि होइन ?
हामी हाम्रो तागत र बलमा विश्वास गर्छौ । यस क्षणसम्मको कुरा गर्नु पर्दा हामी अत्यन्तै उत्साहित र अनुकुल परिणामको अपेक्षा गर्न सक्ने बिन्दुमा छौं । गठबन्धन हुने वा गर्ने बिषयमा अहिले हामीले सोचेका छैनौं । त्यस उपर कहीँ कतै औपचारिक अनौपचारिक छलफल नि भएको छैन । पार्टीको राष्ट्रिय नीति र परिस्थीती कसरी अगाडि बढ्छ, त्यसैले निर्धारण गर्छ । राजनीति केवल पद र प्रतिष्ठा प्राप्ती गर्नु मात्रै पनि होइन, सामाजिक मुद्वाहरु स्थापित गर्न सक्नु पनि राजनीति हो । राजनीति सम्भावनाहरुको खेल पनि हो । आजको दिनमा मैले सम्भावनाको क्षितिज खुल्ला र सफा देखिरहेको छु । हार्नै पर्नेहरुले हार्ने छन् र जित्न पर्नेहरुले जित्ने छन् ।

धनकुटाका जनताहरु किन एकीकृत समाजवादीमा लाग्ने ? यस बारेमा बुझाउन तपाईहरु जनतासमक्ष पुग्नै सक्नुभएको छैन भन्ने छ नि ?
यस सम्बन्धमा हामी क्रमशः जनताको बीचमा गइरहेको छौं । हाम्रो पार्टीको बिचार र योजनाहरु क्रमशः सबैमा पुग्नेछ । मुलतः सौर्य र सत्ता पाएपछि कसरी कम्युनिष्ट नामधारीले नै कम्युनिष्ट आन्दोलन समाप्त गर्न लागे र त्यसको बिरुद्वमा हामी संगठित हुन जरुरी रह्यो भन्ने कुरा बिस्तारै जनताले बुझ्दै गएका छन् । यस बारेमा धनकुटेली मात्रै होइन, समस्त जनताहरुले बुझ्न जरुरी छ । बाँकी रह्यो धनकुटेली जनताहरुको सम्बन्धमा । म हजार बार बहस गर्न सक्छु, खुल्ला बहस गर्न चाहान्छु । यावत कमिशन र बेथितीहरुलाई एकछिन छाडौं । उत्पादन मुलक रोजगार यो ५ वर्षमा कति जनालाई दिलायौँ ? जिल्लाको शोधानान्तर घाटा कति पुर्ताल गर्न सकियो ? कति कुटिर उद्योगहरु सञ्चालन गर्न सकियो ? कति वटा नमुना सामुदायिक विद्यालयहरु बनाउन सकियो ? हाम्रा सरकारी अस्पतालहरुको अवस्था हिजो भन्दा आज सुधार भयो कि भएन ? कति जना युवाहरुलाई बिदेश जानबाट रोकेर यहाँ अवसर दिन सकियो ? स्थानीय पाठ्यक्रम बन्यो कि बनेन ? नयाँ संस्कार र संस्कृतिको कति शुरुवात भयो ? सार्वजनिक यातायातमा कति सुधार गर्न सकियो ? भ्रष्टाचार र शुसासनमा सुधार भयो ? प्राविधिक शिक्षा र पाठ्यक्रम कहाँ तयार भयो ? यस्तै थुप्रै सवालहरु छन् । हाम्रो उद्देश्य समाजवादको आधार तयार गर्ने हो । कतिवटा समाजवाद उन्मुख कार्यक्रम सञ्चालन भयो ? यी र यस्ता विषयमा खुल्ला बहस गरौं । अनि जनताले बुझ्ने छन् । एमालेले एउटा उत्तर दिन सक्छ ? क्लिन स्वीप गरेको जिल्ला र अन्य पार्टीले जितेको ठाउँमा कति फरक बनाउन सक्यो ? फरक देखाउने हिम्मत गरोस् अनि स्यालुट गरौंला । अरु भन्दा फरक नहुने हो भने अब फेरि किन एमालेलाई भोट दिने ? यो कुरा धनकुटेलीहरुले राम्ररी बुझेका छन् ।

के छन् त आगामी योजनाहरु ?
हामी अहिले जनताका घरदैलोमा पुगिरहेका छौं । अहिले हामी समाजवादी यात्रामा छौं । हाम्रो उदेश्य भनेको विगतको सत्ताले जनताका नाममा खासगरी नेकपा एमालेले जुन प्रकारले ब्रम्हलुट मच्चाइरहेको छ, त्यसको भण्डाफोर गर्ने हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...