आज भ्यालेन्टाइन डे अर्थात् प्रेम साटासाट गरी विश्वभर प्रणय दिवस मनाइँदै

Valentine day

काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।

हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वकै रुपमा प्रणय दिवस मनाइन्छ ।

युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ ।
विशेषगरी भ्यालेन्टाइन डे को औपचारिक शुरुवात इस्वी सम्वत २६९ रोमनबाट शुरु भएको मानिन्छ । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ ।

तत्कालीन रोमन सम्राट क्लोडियस द्धितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।

तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको कथन छ । उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

यो वर्ष भने कोरोना महामारीका कारण यसअघिका वर्षहरुको जस्तो उत्साह देखिएको छैन । यद्यपि युवायुवतीले आआफ्नै तरिकाले दिवस मनाइरहेका छन् ।

प्रतिकृया दिनुहोस