‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट किसान लाभान्वित

Nagarpalika

कञ्चनपुर । कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ ।

तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीका अनुसार तरकारी खेतीका लागि नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७ र ८ लाई तरकारी खेतीका लागि गत वर्ष छनोट गरिएको थियो ।

“तरकारीखेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा अनुदानमा रकम सिधैँ खातामा उपलब्ध गराउने व्यवस्था मिलाएका थियौँ”, अधिकृत धामीले भने, “अनुदान रकमसँगै तरकारी खेतीका लागि तालिम दिने कार्य, माटो परीक्षण र आइपिएम पाठशाला सञ्चालन गरिएको थियो ।”

त्यसबाट व्यावसायिक तरकारी खेतीमा संलग्न दुई दर्जन बढी समूहमा आवद्ध किसान लाभान्वित भएका छन् । किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरी आत्मनिर्भर भएको अधिकृत धामीले बताए । जैविक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने नीति लिएको छ ।

चालु आवमा समेत सो कार्यक्रमअनुसार कम्तीमा समूहमा आवद्ध किसानले पाँच बिघा जग्गामा तरकारी खेती गरेका आधारमा अनुदान रकम उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएको छ । “कृषिलाई व्यावसायीकरण गरी किसानलाई आजआर्जनसँग जोडेर आत्मनिर्भर बनाउनका लागि कार्यक्रम सञ्चालन गरेका हौँ”, उनले भने, “बाली विविधिकरणसँगै बाँझो जग्गाको सदुपयोग गर्नका लागि सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।”

किसानलाई कार्यक्रमअनुसार मागका आधारमा अनुदान रकम उपलब्ध गराइँदै आएको छ । तरकारी खेतीका लागि प्रस्ताव पेश गरेका समूहलाई गत वर्ष रु तीन लाखका दरले अनुदान रकम उपलब्ध गराइएको थियो । चालु आवमा व्यावसायिक खेतीका लागि प्रतिसमूहलाई रु दुई लाखका दरले अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस