कमिनी बिहे गर्ने छोरो, किरिया बस्दा कुटाई खाने आमा ! प्रहरीले किन लिएन जाहेरी ?

Chuwachut nawalparasi

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका वडा नम्वर ५ मिनिबन कट्टी पवन खड्काले अनिरा विश्वकर्मासँग अन्तजार्तीय प्रेम विवाह गरे । तर, पवनकी आमा मिनाकुमारी क्षेत्री खड्काले सासु आमाको किरिया बसेको बेला कुटिएकी छन् ।

मिनाकीसासु धनकुमारी खड्काको यही माघ २३ गते निधन भएको थियो । सासु आमाको परम्पराअनुसार नै काजकिरिया गर्ने बेला सोही दिन जेठाजु नातापर्ने रेशम खड्का, जेठानी नाता पर्ने मनकुमारी खड्का तथा रमेश खड्का र रामु खड्काले मिना, छोरा पवन र बुहारी अनिरा विश्वकर्मालाई कुटपिट गरेका हुन् ।

उनीहरुलाई काजकिरियामा बसेकै बेला कुटपिट गर्दै ‘कामी र दलित’ जस्ता शब्द प्रयोग गर्दै घरबाट निकालेको मिना खड्काले बताइन् । आफुमाथि जातीय गाली गलौज गर्दै कुटपिट गरेपछि प्रहरीमा उजुरी दिए पनि उजुरी दिन प्रहरीले अस्वीकार गरेको छ ।

जातीय छुवाछूत तथा भेदभावबाट पीडित परिवारले दिएको जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले अस्वीकार गरेको हो । ५१ वर्षीय मिनाकुमारी क्षेत्री खड्काले जातीय छुवाछूत तथा भेदभाव गर्नुका साथै कुटपिट गरिएको भन्दै दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको हो ।

खड्काले आफ्नो छोराले दलितसँग विहे गरेकै कारण आफ्नै जेठाजु लगायतले आफू र छोरा बुहारीमाथि जातीय भेदभाव तथा छुवाछुत गरि कुटपीट गरेको जाहेरीमा उल्लेख गरेकी थिइन् ।

साथै बुहारी अनिरा विश्वकर्माले किरिया बस्दा धर्मको हानी हुने भन्दै जातीय गाली गलौचसमेत गरेको जाहेरीमा उल्लेख छ । आफूहरुलाई सामाजिक परम्परा अनुसार किरिया समेत गर्नबाट बञ्चित गरेको उल्लेख छ ।

मिनाले आफ्नो छोरा पवनले दलित समुदायकी बुहारी गरेकै कारण आफूहरुमाथि जातीय विभेद तथा छुवाछूत गरेको उनले बताइन् । ‘जाहेरी लिएर प्रहरीमा पुगेको थिएँ । प्रहरीले तपाईं खड्का क्षेत्रीमाथि कसरी विभेद भयो । तपाईंले जाहेरी दिन मिल्दैन भन्दै फर्काइयो,’ मिनाले भनिन्, ‘भोली जाहेरीमा नाम सच्याएर ल्याउनु भनिएको छ ।’

प्रतिकृया दिनुहोस