जसपा र लोसपा विभाजनको सँघारमा

Jasapa

काठमाडौं । मधेसवादी दल पुनः विभाजन उन्मुख देखिएका छन् । विभिन्न ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) को गठन भएको थियो । तर एक वर्ष नपुग्दै जसपा विभाजन भयो । जसपा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी (लोसपा) र जसपा फेरि फुटको सँघारमा पुगेका छन् ।

अहिलेको जसपा र लोसपामा विवाद चर्किंदै गर्दा यी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । जसपामा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवका बीचमा विवाद चर्किंदै गएको छ । वरिष्ठ नेता अशोक राई मौन बसेका छन् । यद्यपि, राईले समेत डा. भट्टराईलाई नै समर्थन गर्ने बताइएको छ ।

अध्यक्ष यादवको कार्यशैलीप्रति असहमति जनाउँदै भट्टराईले पार्टी विधानअनुसार चल्नुपर्ने बताउँदै आएका छन् । विभिन्न निर्णयहरूमा असहमति जनाउँदै भट्टराईले अध्यक्ष यादवबाट असन्तुष्ट नेताहरूको सहयोगमा पार्टी विभाजन गर्ने अवस्थासम्म पुगेका छन् ।

भट्टराईनिकट नेताहरूले यादव आफ्नो कार्यशैली सुधार्दै पार्टीलाई विधानअनुसार अगाडि नबढाए अध्यक्षकै जिम्मेवारीबाट हटाउन सकिनेगरी तयारी भइरहेको जानकारी दिए । तर, अध्यक्ष यादव निकटका नेता पार्टी विधानअनुसार नै अगाडि बढेको भए पनि केही नेताले मनोमानी गर्न खोज्दा विवाद भएको बताउँछन् ।

जसपा कार्यकारी समितिका सदस्य रामनरेश रायले पार्टी विधानअनुसार चल्न नसकेको आरोप लगाए । पार्टी विधानमा दुई अध्यक्षको व्यवस्था भए पनि एक मात्रै अध्यक्ष रहेकाले अर्को अध्यक्ष थप्नुपर्ने उनले बताए ।

‘पार्टी विधानअनुसार चल्नुपर्छ । कुनै निर्णय गर्दा पार्टीको बैठक बसेर गर्नुपर्छ । आफूखुसी निर्णय गर्न थालेपछि पार्टीलाई अगाडि कसरी बढाउने ?’ रायले भने, ‘पार्टी विधानमै दुई अध्यक्षको व्यवस्था छ । त्यसैले अर्को अध्यक्ष छिट्टै चयन गर्नुपर्ने विषय पार्टीमा उठ्दै आएको छ ।’

संघीय परिषद्का अध्यक्ष भट्टराईले समेत अर्को अध्यक्ष थप्नुपर्ने विषय उठाउँदै आएका छन् । तर, अर्को अध्यक्ष थप्दा अध्यक्ष को हुने भन्नेमा केही छलफल भएको छैन । जसपा स्रोतका अनुसार अध्यक्ष यादवले मनोमानी रूपमा अगाडि बढ्न खोजेकाले पार्टी विधानअनुसार अर्को अध्यक्ष थपेर उनको अधिकार कटौती गर्न खोजेका छन् ।

भट्टराईले अर्को अध्यक्ष थप्ने प्रस्ताव’ छलफल हुनुपर्ने माग गर्दै आएका छन् । तर यादवले विधानअनुसार अध्यक्ष थप्नुपर्ने विषयमा निर्णय हुने र आफू कमजोर हुने भएपछि कार्यकारी समितिको बैठक नै विभिन्न बाहानामा बोलाउँदैनन् । विधानअनुसार अर्को अध्यक्ष नथपिए जसपा फेरि विभाजन हुने निश्चित नै रहेको जसपाका नेताहरू बताउँछन् ।

जसपाका अध्यक्ष रहेका महन्थ ठाकुरले लोसपा गठन गरेपछि एक अध्यक्ष पद रिक्त रहेको छ । उता लोसपा गठन गरेका ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झाले पार्टी विधि, विधान, प्रक्रियाअनुसार अगाडि नबढाई भागबन्डाको आधारमा अगाडि बढाइरहेको आरोप लगाउँदै फेरि विभाजन हुने निश्चित भएको छ ।

विभिन्न ६ पार्टीबीच एकीकरण भएर राजपा गठन भएको थियो । त्यसैमध्येको एक तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई ब्युत्याउँने काम भएको छ । निर्वाचन आयोगमा तमलोपा दर्ता भइसकेको छ । लोसपाका असन्तुष्ट नेताहरूले तमलोपालाई मधेसवादी शक्तिका रूपमा अगाडि बढाउन खोजेका छन् ।

रविशंकरकुमार कर्णको अध्यक्षतामा आयोगमा दर्ता भइसकेको तमलोपामा लोसपाका नेताहरू वृषेशचन्द्र लाल, डा. विजय सिंहलगायतका नेताहरू आबद्ध हुँदै छन् । उनीहरूले छिट्टै नै औपचारिक रूपमा लोसपा छोडेको घोषणा गर्दै छन् । लोसपा स्रोतका अनुसार तत्कालीन तमलोपामा रहेका बहुसंख्यक नेता लोसपामा आबद्ध हुँदै छन् ।

लोसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका असन्तुष्ट नेता वृषेशचन्द्र लालले चार नेताको सिन्डिकेटका कारण आफूहरू तमलोपालाई मधेसको मुद्दा उठाउने पार्टीको रूपमा अगाडि बढाउन खोजेको बताउँछन् ।

लोसपा नेता ठाकुर, महतो, भण्डारी, झाले भागबन्डाको आधारमा पार्टीलाई सञ्चालन गरिरहेको आरोप लालको छ । पार्टी विधान, विधि, लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन नभई चार नेताको भागबन्डाका आधारमा चलेकाले आफूहरू आन्तरिक छलफलमा रहेको लालले बताए ।

‘उपेन्द्रजीको जसपा प्रचण्डको पिछलगु भएको छ । प्रचण्डकै एजेन्डाअनुसार उपेन्द्रजी अगाडि बढेका छन् । लोसपाका नेता केपी ओलीको पिछलगु भएको छ । केपी ओलीकै एजेन्डाअनुसार लोसपा चलेको छ’ लालले राजधानीसँग भने, ‘मधेसको मुद्दा बोकेको मधेसी पार्टी नै नभएपछि हामी आन्तरिक छलफलमा जुटेका छौं । हामी छिट्टै नै मधेसको मुद्दा बोकेको मधेसवादी पार्टी निर्माण गर्दै अगाडि बढ्नेछौं ।’

लोसपा गठन भएदेखि एकपटक पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । निर्वाचन आयोगमा दल दर्ताका लागि एकपटक हस्ताक्षर संकलन गर्नका लागि बैठक बसे पनि त्यसयता बैठक बस्न सकेको छैन ।

कुनै निर्णय गर्दा चार जना नेता (ठाकुर, महतो, भण्डारी, झा) भागबन्डाको आधारमा गर्नु ठीक नभएको लाल बताउँछन् । आफूले पार्टीको बैठक बसेर लोकतान्त्रिक प्रक्रियाअनुसार अगाडि बढाउन भने पनि कुनै सुनुवाइ नभएको गुनासो उनको छ ।

उता लोसपामा ठाकुरले मनोमानी गरेको भन्दै महता, भण्डारी र झा असन्तुष्ट छन् । जिल्ला, प्रदेशको नेतृत्व मनोमानी रूपमा ठाकुरले चयन गरेपछि अरू नेताहरू असन्तुष्ट छन् । उनीहरूले समेत ठाकुरको कार्यशैलीको आलोचना गर्दै आएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...