स्थानीय तहको निर्वाचनबारे जुटेन सहमति, कानुनविद्हरूसँग परामर्श गरेर फेरि ४ बजे बैठक बस्ने

Gathbandhan samiti

काठमाडौं । स्थानीय तह निर्वाचन मितिको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बिहानको बैठक असफल भएको छ । आजै अपराह्न ४ बजे फेरि बस्ने गरी बैठक सकिएको छ ।

स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

गठबन्धनको समान धारणा बनाउन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेर शनिबार गठबन्धनको बैठक राखेका थिए । शनिबारको बैठकमा भने राष्ट्रिय जनमोर्चाबाहेक चार वटै दलका शीर्ष नेताहरू सहभागी थिए ।

आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।

स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा सत्तारुढ गठबन्धनले फेरि कानुनविद्हरूसँग परामर्श गर्ने भएको छ । स्थानीय निर्वाचनका विषयमा गठबन्धनभित्रका दलहरूबीच मतभेद छ ।

गठबन्धनले यसअघि पनि कानुनविद्हरूसँग परामर्श गरेको थियो । त्यसबेला विज्ञहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधानबमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । तर, निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको थियो ।

आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ गठबन्धनको नेतृत्वमा रहेको दल कांग्रेसभित्रै पनि स्थानीय निर्वाचन सार्न नहुने भन्दै देउवामाथि दबाब छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत देउवासँगको भेटमा लिखित रूपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबार आफूनिकटहरूसँग स्थानीय निर्वाचनलाई जेठसम्म भए पनि गर्नुपर्ने, र त्यसबारे गठबन्धनमा छलफल गर्ने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस