भर्चुअल माध्यमबाट कार्यसम्पादन समिति गठन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Nepali congress

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट आज अपराह्न ३ बजे आज बस्दै छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका छन् । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

१४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको दुई महिनामा सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने भएकाले कार्यसम्पादन समिति गठनलाई देउवाले प्राथमिकता दिएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा। कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिए ।

कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि कांग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन । कोषाध्यक्ष पद पनि रिक्त छ ।

केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकेका बेला केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने कांग्रेस विधानको प्रावधान छ । तर कार्यसम्पादन समितिले गरेका निर्णयहरु केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ । पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने एउटा मात्र एजेण्डा भए पनि बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचन र कोरोना संक्रमणका विषयमा पनि छलफल हुन सक्ने नेताहरु बताउँछन् ।

कांर्यसम्पादन समितिमा पार्टी पदाधिकारीहरु स्वतः पदेन सदस्य हुनेछन् भने सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने विधानको व्यवस्था छ ।

सभापतिको प्रस्ताव केन्द्रीय समिति बैठकले बहुमतले अनुमोदन गर्नुपर्नेछ । त्यस्तै कार्यसम्पादन समितिमा पार्टी प्रवक्ता पनि पदेन सदस्य हुनेछन् भने संसदीय दलको नेता पनि कार्यसम्पादन समितिको पदेन सदस्य रहने विधानमा व्यवस्था छ ।

प्रतिकृया दिनुहोस