लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी : नेविसंघमा देउवाका समकक्षीदेखि कलाकारसम्म

Lumbini rastriya sabha

बुटवल । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । निर्वाचनका लागि पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

लुम्बिनी प्रदेशका तीन सिटका लागि भएको निर्वाचनमा तीनै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा विजयी भएका हुन् ।

एमालेको तर्फबाट उम्मेदवारी दिएका दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार पराजित भए । गठबन्धनका उम्मेदवारले चार हजार तीन सय ७४ मतभार प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले दुई हजार तीन सय १२ मतभार प्राप्त गरेका छन् । बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सकिएको थियो ।

आगामी २० फागुनमा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदै छ । जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दीर्घनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल सकिदैछ ।

लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र एक सय नौ स्थानीय तहका प्रमुख र उपप्रमुख दुई सय १५ जना गरी दुई सय ९६ मतदाता थिए ।प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ निर्धारण गरिएको थियो ।

शेरबहादुर देउवा नेविसंघको सभापति हुँदा युवराज शर्मा उपसभापति थिए । उनी बाँके जिल्लाको हाल नेपालगञ्ज नगरपालिका वार्ड नम्बर २ मा २००७ साल चैत १२ गते जन्मेका हुन् । शर्मा २०२४ सालमा पञ्चायतको विरोध गर्दा पहिलोपटक जेल परेका थिए । त्यसपछि पटक पटक जेल परेका छन् । ‘दर्जनौँ पटक जेल परेको छु, त्यो बेला राजनीति नै त्यस्तै थियो,’ उनले भने ।

उनी २०३० सालमा भूमिगत रूपमा पार्टीको जिल्ला सचिवसमेत बनेका थिए भने नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो महाधिवेशनमा उनी उपसभापति चयन भए । उनी शिक्षकसमेत हुन् ।

वेतहनी विद्यालय, खजुरा आदर्श मावि हुँदै महेन्द्र माविमा पनि उनले पढाए । २०४६ सालमा बाँकेबाट जनआन्दोलनको नेतृत्व नै शर्माले गरेका थिए । त्यसपछि उनी शिक्षण पेसा छाडेर राजनीतिमा पूर्ण रुपले होमिए । बाँकेको सभापति हुँदै अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा रहेकै बेला उनलाई पार्टीले राष्ट्रियसभाको उम्मेदवार बनाएको हो ।

सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी राज्यलक्ष्मी गैरे पाल्पा जिल्लाको रामपुरमा जन्मेकी हुन् । २०२४ सालमा जन्मेकी गैरे २०३६ सालदेखि नै राजनीतिमा सक्रिय भएकी हुन् । त्यो बेला रामतुल्सी मावि रामपुरमा अध्ययन गर्दै गर्दा बहुदल र निर्दलको राजनीतिक संघर्ष थियो । त्यस क्रममा गैरे बहुदलको पक्ष लागिन् ।

फेरि ३७ सालमा विद्यार्थी हत्याकाण्ड र झापा काण्डले उनलाई राजनीतिप्रति झन् गहिरोसँग लाग्न प्रेरित गर्‍यो । उनी ३९ सालमा अनेरास्ववियुको जिल्ला सदस्य बनिन्, त्यसपछि निरन्तर पार्टीमै छिन् । अविवाहित गैरेसँग पाल्पा जिल्ला कमिटी सदस्य ४ पटक र जिल्लाको लेखा आयोगको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

उनी नेकपा एमाले नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी थिइन् । उनी झिनो मतान्तरले पराजित भइन् भने महिला संगठनको केन्द्रीय सदस्य बनेर काम गरिन् ।

यही बीच तत्काल एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनी विरोधमा उत्रिएकी थिइन् । एमालेभित्रको शक्ति संघर्षको परिणमस्वरुप दल विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी नवगठित दलमा सामेल भइन् । अहिले उनी सोही दलबाट उम्मेदवार बनेकी हुन् । उनी नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्जको भूमिकामा छिन् । उनी पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।

सत्तारुढ गठबन्धन अन्तर्गत राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका विश्वकर्मा ३५ सालदेखि पार्टीको होलटाइमर कार्यकर्ता हुन् । जनमोर्चा निकट रक्तिम सांस्कृतिक अभियानका कलाकारदेखि हाँक पत्रिकामा एक वर्ष पत्रकारिता गरेको अनुभवसमेत उनीसँग छ ।

विश्वकर्माको जन्म बाग्लुङमा २०१५ सालमा भएको हो । बाग्लुङको गलकोट जन्मेका विश्वकर्माको अध्ययन गलकोट माविमा भयो । पीएन क्याम्पस पोखरामा आईएसम्म पढेपछि केही वर्ष शिक्षण पेसामा समेत उनी लागेका थिए । उनले २०३१ सालदेखि सितलपाटीमा प्रधानाध्यापक भएर काम गरेका थिए ।

त्यसपछि भेडीखर्क प्राविमा काम गरे । उनले पार्टीको होलटाइमर कार्यकर्ता नबन्दासम्म २०३५ सालसम्म पढाएका थिए । होलटाइमर बनेपछि पार्टी केन्द्रीय कार्यालयले भारतमा संगठन निर्माणका लागि उनलाई खटाएको थियो । सुरुमा भारतको मद्रासमा नेपालीहरुको संगठन एकता समाजमा तीन वर्ष काम गरेपछि उनलाई पार्टीले सरुवा गरेर दिल्ली र पञ्जाबमा पनि पुर्‍यायो । त्यही बीचमा पार्टीको युवा मोर्चा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा बन्यो, जसको महासचिव बनेर उनले काम गरे ।

केही वर्षपछि नेपाल आएर उनी पार्टी प्रतिबन्धित अवस्थामै साँस्कृतिक मोर्चाको संयोजक बने, जसको सदस्यमा जीवन शर्मा र मणि थापा थिए । उनी कलाकार पनि हुन् । रक्तिम साँस्कृतिक भाग १ देखि ३ सम्म उनका गीत छन् ।

पार्टीले उनलाई उपनाम राजेश विक दिएको छ । उनले जोही नामबाट गीत गाएका छन् । नागरिकतामा उनको नाम तुलप्रसाद विश्वकर्मा नै छ । सांस्कृतिक मोर्चा हुँदै पार्टीको दलित मोर्चा गठन गर्नका लागि भारतको लखनउमा पुगेको टोलीले उनलाई नै संयोजक तोक्यो । उक्त मोर्चाको उनी हाल अध्यक्ष नै छन् । बीचमा केही अन्य अध्यक्ष भए पनि फेरि उनलाई नै अध्यक्ष बनाइएको हो । पार्टीको उनी केन्द्रीय सदस्य पनि हुन् ।

प्रतिकृया दिनुहोस