माओवादी महाधिवेशनको पाँचौ दिन : आज १३ वटा समूहका टोली नेताले धारणा राख्ने

Moist mahadibesan 14

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन जारी छ । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहका नेताले आज पनि निश्कर्ष सुनाउँदै छन् ।

आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ ।

हिजो सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहगत छलफलको निष्कर्ष पेश गरेका छन् ।
२५ मध्ये बाँकी १३ समूहका तर्फबाट समुह नेताले आज बिहीबार आफ्नो समुहको निश्कर्ष सुनाउनेछन् । प्रस्तुतिको अभिलेखीकरण गर्न तीन सदस्यीय टोली बनाइएको छ । समूहगत छलफलको निष्कर्ष लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ । २५ वटै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले आफूहरु निर्वाचनको तयारीमा रहेको बताए ।

प्रतिकृया दिनुहोस