माओवादीले सोमबार ११ बजेदेखि मात्रै बन्दसत्र शुरु गर्ने

Maost 12

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार हुने भएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भयो । उद्घाटनसत्र सकिएसँगै सोमबारबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ । नेता जनार्दन शर्माका अनुसार सोमबार विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ ।

देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुनेछ ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

प्रतिकृया दिनुहोस