महिलाले पाउने ३३ प्रतिशतको सुविधामा एकल महिलालाई समेट्न माग

Yekal mahila news

काठमाडौं । एकल महिलाहरुले महिलाको हक अधिकारको कुरा गरिए पनि एकल महिलाको विषयमा कसैले नबोलेकोमा चिन्ता व्यक्त गरेका छन् ।

मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीहरुले महिला अधिकारभित्र एकल महिलाहरु पर्छन् भन्ने कसैले नसोचेकोमा दुःख व्यक्त गरेका हुन् ।

साथै उनीहरुले एकल महिलालाई ५५ वर्षको उमेरमा भत्ता उपलब्ध गराउने निर्णयप्रति एकल महिला समूहले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले महिलाहरुले पाउँदै आएको ३३ प्रतिशतको सुविधामा पनि एकल महिलाका लागि केही व्यवस्था गरिनुपर्ने माग गरे ।

नेपालमा रहेका एकल महिलामध्ये पनि ४० प्रतिशत २० वर्षमुनीका छन् । ६७ प्रतिशत एकल महिला ३५ वर्षसम्मका छन् भने उनीहरुका ३ देखि ४ वटासम्म बच्चाबच्ची छन् । त्यस्तै २९ प्रतिशत एकल महिला साक्षर छन् भने २ प्रतिशत एकल महिलाले मात्रै उच्च शिक्षा हासिल गरेको मानव अधिकारका लागि महिला एकल महिला समूहको तथ्यांकमा उल्लेख छ ।

सो कार्यक्रममा एकल महिलासमेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री रेग्मीले आफु पनि एकल महिला भएको र एकल भए पनि संघर्षकै कारण मन्त्री बन्ने हैसियत कायम गरेको बताइन् । महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, घरेलु हिंसालगायत सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले देशव्यापी अभियान नै सञ्चालन गर्ने बताउँदै उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका निम्ति महिला स्वयं सक्रिय हुनुपर्ने उल्लेख गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल लगायतले आयोगले तयार गरेको ६ वर्षे रणनीतिमा एकल महिलाको विषयवस्तुलाई समावेश गरेको उल्लेख गर्दै मानव अधिकारसँग जोडिएका एकल महिलाका सवालमा आयोगले अझै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष कुन्ता शर्माको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको सञ्चालन एकमाया विश्वकर्माले गरेकी थिइन् ।

एकल महिला समूह २०५२ सालमा स्थापित भई एकल महिला सवलीकरण, सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक न्यायका लागि र समग्र एकल महिलाका हकअधिकारका क्षेत्रमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । सबै जिल्लाको विभिन्न गाविस तथा नगरपालिकामा समूह गठन गरी सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै एकल महिलालाई ससम्मान पहिचान तथा परिर्वतनका बाहकका रुपमा तयार गर्नसमेत संस्था स्थापनाकालदेखि अग्रसर रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस