अन्तरजातीय विवाह गरेका दलित युवक एक सातादेखि बेपत्ता

Chnndre kami

जुम्ला । अन्तरजातीय बिहे गरेका हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरको नात्ता गाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली भनिने रमिला मल्लसँग प्रेम विवाह गरेका उनी गत बुधबारदेखि बेपत्ता पारिएका हुन् ।


परिवारका अनुसार मंसिर २९ को मध्यरात घरमै आएको एक समूहले चन्द्रेलाई कुटपिट गर्दै लगेका थिए । त्यसयता उनको अवस्था अज्ञात छ । केटी पक्षका मानिस आएर चन्द्रेलाई कुटपिट गरेर सुन्तलीलाई फिर्ता लगेको र चन्द्रेलाई पनि अपहरण गरेर बेपत्ता बनाएको परिवारको भनाइ छ । चन्द्रे र सुन्तलीले घरबाट भागेर विवाह गरेका थिए । अन्तरजातीय विवाहकै कारण चन्द्रेलाई बेपत्ता बनाइएको पीडित परिवारले दाबी गरेको छ ।

बेपत्ताको खोजी गर्न हुम्लाका डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३० जना प्रहरी गाउँमा गएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त गाउँ हुम्ला सदरमुकाम सिमकोटबाट एक दिनको पैदल दूरीमा पर्छ ।

हुम्लाका १८ वर्षीय चन्द्रे र मुगुकी १७ वर्षीया रमिलाले मंसिर ५ मा प्रेम विवाह गरेका थिए । उनीहरूको विवाहलाई माइती पक्षले सजिलै स्विकार्ने सम्भावना नभएपछि चन्द्रे र सुन्तली घरतिर नगएर छिमेकी गाउँमा बसेका थिए । उनीहरू मंसिर २४ मा मात्रै जैर गाउँस्थित घर गएका थिए । हुम्लाको जैर गाउँमा दलित समुदायको बसोबास छ । तीन वर्षअघि मुगुको एउटा होटलमा काम गर्दै गर्दा चन्द्रेको भेट सुन्तलीसँग भएको थियो । त्यसपछि उनीहरू प्रेम सम्बन्धमा रहेको गाउँलेको भनाइ छ ।

चन्द्रेले एक महिनाअघि आफूसँगै पढ्ने मुगुकी केटी भगाएर ल्याएको र विवाह दर्ता गरिदिन भनेर फोनमा आग्रह गरेको सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष गोकुल बुढाले बताए । ‘२० वर्षमुनिको विवाह दर्ता हुँदैन भनेपछि मंसिर २४ मा सुन्तलीलाई लिएर चन्द्रे जैरस्थित आफ्नो घर फर्के भन्ने सुनेको हुँ,’ उनले भने, ‘मंसिर २९ गते राति माइती पक्षका आएर केटाकेटी दुवैलाई उठाएर लिएछन् । केटालाई दुवै हात बाँधेर कुटपिट गर्दै लगिएको भन्ने कुरा आएको छ ।’

परिवारका काइँला छोरा चन्द्रेका बाबुआमासहित तीन दाजु, भाउजूहरू र एक भाइ छन् । चन्द्रेको आफन्त दाजु नाता पर्ने गगन लोहारका अनुसार केटीले माइती पक्षलाई ‘मैले बिहे गरें, मेरो सोधखोज नगर्नू’ भनेर जानकारी गराएकी थिइन् । माइतीले पनि केटीलाई ‘जे हुनु भइगो, एकपटक घर आऊ, हामी केही भन्दैनौं’ भनेको लोहारले सुनाए ।

उनका अनुसार बुधबार राति १ बजेतिर घरमै सुतेका बेला अरू सुत्ने कोठामा बाहिरबाट चुकुल लगाइदिएर केटा र केटीको कोठामा गई हातपात गर्दै लिएर गएका थिए । चन्द्रेलाई लग्नुभन्दा अघि उनीहरूमध्ये केही घरभित्र छिरे भने कसैले छिमेकीको घरबाहिरका ढोका लगाइदिएको पनि लोहारले बताए । ‘परिवारका अन्य सदस्य सुतेको कोठाको ढोका पनि बन्द गरिदिए । त्यसपछि चन्द्रे र सुन्तलीलाई घरबाट लिएर गए,’ उनले भने, ‘चन्द्रेलाई लैजानुअघि उनीहरूले कुटेका थिए । मैले राति नै प्रहरीलाई खबर गरेको हुँ ।’

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले घटना भएको गाउँमा नजिकको चिम्टस्थित अस्थायी प्रहरी चौकीबाट पनि प्रहरी टोली गएको बताए । जिल्ला प्रहरीबाट त्यहाँ गएको डीएसपी शर्माको टोलीसँग फोन सम्पर्क हुन नसकेकाले थप जानकारी पाउन नसकिएको उनको भनाइ छ । हुम्ला सदरमुकाम सिमकोटबाट चिम्टस्थित प्रहरी चौकीमै पुग्न दुई दिन पैदल हिँड्नुपर्छ । चिम्टबाट पनि घटना भएको गाउँ पुग्न अझै केही हिँड्नुपर्ने प्रजिअ आचार्यले बताए । ‘अनुसन्धानका लागि गएको प्रहरी टोलीसँग मंगलबार अबेरसम्म पनि सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘टाढा र दुर्गम भएकाले जानकारी पाउन ढिलाइ भइरहेको छ ।’

मुगुका प्रहरी प्रमुख डीएसपी सुवास हमालले घटनाको अनुसन्धानका लागि रमिला र उनका बाबु वीरबहादुर मल्ललाई नियन्त्रणमा लिएर हुम्ला प्रहरीको जिम्मा लगाइएको बताए । नेपाल दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश संयोजक ललितकुमार सुनारले पनि माइती पक्षबाटै आएका युवाले चन्द्रेलाई कुटपिट गर्नॅका साथै आफूसँगै लिएर गएको विज्ञप्तिमा उल्लेख गरेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...