पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाई

261601106 440683497427624 4247257167833327866 n

चितवन । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् ।

निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । बन्द सत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । उम्मेदवारी दर्ता आइतबार मात्रै हुने बताइएको छ ।

गत महिना भएको एमालेको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन हुने भएको छ । जारीmबन्दसत्रले केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव पारित गरेसँगै विधान संशोधन हुने भएको हो । नयाँ व्यवस्था अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । जसमा १९ जना पदाधिकारीहरु रहनेछन् ।

शुक्रबार राति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो । विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको थियो । त्यसमा अब ७६ जना थप्ने निर्णय भएको हो ।

नेतृत्वमा निर्वाचनका लागि एमालेले महाधिवेशनस्थलमा मतदानको तयारी गरेको छ । मतदानका लागि यसपटक एमालेले विद्युतीय मेसिनको उपयोग गर्ने भएको छ । यसका लागि एमालेले महाधिवेशनस्थलमा करिब सय वटा विद्युतीय मतदान मेसिन राखेको छ ।

बन्द सत्र सञ्चालन भइरहेकै समयमा समेत महाधिवेशन प्रतिनिधिहरूलाई मेसिनबाट कसरी मतदान गर्ने भनेर प्राविधिकहरूले सिकाइरहेका छन् ।

प्रतिकृया दिनुहोस