प्रदेश १ का मुख्यमन्त्री आचार्यले ४२ दिनमा दिए राजीनामा

Bhim acharya 15

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् । उनले आज बसेको प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्नेमा ४२ औं दिनमा कार्तिक ५ गते प्रदेशसभामा प्रस्ताव राखेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।

मुख्यमन्त्री आचार्यले निर्वाचन आयोगले एमालेका १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय २५ गते गरेकोलाई आधार बनाएर ३० दिनभित्र अर्थात् असोज २३ गतेसम्ममा सदनमा विश्वासको प्रस्ताव राख्नु पर्ने थियो ।

प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्नुभन्दा २ दिन अगाडि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनु पर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ । तर उनले असोज २५ गते ३२ औं दिनमा प्रदेशसभा सचिवालयमा विश्वासको मतका लागि सूचना दिएका थिए ।

प्रतिकृया दिनुहोस