दुई महिनापछि लुम्बिनीमा मन्त्रिपरिषद् बिस्तार : १० मन्त्रीको शपथ, मन्त्रिमण्डल १७ सदस्यीय

Lumbini arkar mantri thap

बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । केसीले जम्बो १७ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएपछि मन्त्रिपरिषदले पूर्णता पाएको हो ।

संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई सपथ गराएका हुन् ।

नेपाली कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र वसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट इन्द्रजित थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री र तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीबाट रमा आले कानून, महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी प्रदेशसभामा एकीकृत समाजवादीकी एक्ली सांसद हुन् ।

कांग्रेसबाट अर्जुनकुमार श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना नेपाल विक पर्यटन राज्यमन्त्री बनेकी छन् । यसैगरी माओवादी केन्द्रबाट विमला खत्री वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री बनेकी छन् ।

आफ्ना पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन् । नेकपा खारेज पछि उनले गत वैशाख १९ गते माओवादी केन्द्र रोजेकी थिइन् ।

प्रतिकृया दिनुहोस