सकियो एमालेको बैठक, घनश्याम भुषालले राखे यस्तो फरक मत

Uml cc meeting

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको हो ।

केन्द्रीय कमिटीले पारित गरेका ३ वटै प्रतिवेदनलाई यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा पेश गरिने छ ।

सो बैठकमा उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा लिखित रुपमा तीन बुँदे फरक प्रस्ताव राखेका छन् । केन्द्रीय कमिटी बैठकमा पनि भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा फरक प्रस्ताव राखेका छन् । उनले विगतको समीक्षा, नयाँ कार्यदिशाका निम्ति ठोस प्रस्ताव र जनताको बहुदलीय जनवाद (जबज) को सैद्धान्तिक व्याख्या गरिनुपर्ने प्रस्ताव गरेका छन् ।

उपमहासचिव भुसालले राजनीतिक प्रतिवेदन एकांगी रुपमा आएको उल्लेख गरेका छन् । ‘हामीले सानोतिनो धक्का खाएका छैनौं, ठूलो धक्का खाएका छौं । पार्टी एकतादेखि विभाजनसम्म उल्लेख गरिएको प्रतिवेदन एकांगी छ,’ भुसालको भनाइ छ ।

पार्टी विभाजन हुनुमा सबैको कमजोरी रहेको र बढी जिम्मेवार अध्यक्ष रहेको भुसालको भनाइ थियो । तर राजनीतिक प्रतिवेदनमा कमजोरीको पाटो छुटेको उनले बताए । ‘हाम्रै के कमजोरी भए भन्ने यो रिपोर्टमा भनेका छैनौं । जिम्मेवार पार्टीले आफ्नो कमीकमजोरी थिएन भन्ने एकांकी भएर चल्दैन । कमजोरी भएको छ । हामी सबै कमजोरीमा जिम्मेवार छौं र अध्यक्ष बढी जिम्मेवार हुनुहुन्छ,’ भुसालले भने ।

तीनवटै प्रतिवेदनमाथि १० वटा समूह बनाएर शनिबार छलफल भएको थियो । सो छलफलमा आएका सुझाब तथा प्रश्नबारे अध्यक्ष ओलीलगायत प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । जवाफ दिनेक्रममा अध्यक्ष ओलीले संसद विघटन ठिक रहेको भन्दै बचाउ गरेका थिए ।

उता ७० वर्षे उमेर हद कायम राखिने जवाफ उपमहासचिब पौडेलले दिएका थिए । उनले विधान महाधिवेशनले निर्णय गरेमात्र सो व्यवस्था परिवर्तन हुने अन्यथा ७० वर्ष उमेर पुगेकाले कार्यकारी पद लिन नपाइने व्यवस्था कायम रहने जानकारी दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस