एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रतिवेदनलाई अन्तिम रुप दिइने

Uml cc meeting

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बिहान ११ बजे बस्नेछ ।

शुक्रबारबाट काठमाडौँमा सुरु भएको बैठकमा शनिबार पार्टीको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा दस्तावेज (राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्ताव) माथि समूहगत छलफल सकिएपछि आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएका सुझावमाथि जवाफ दिने सचिवालयले जनाएको छ ।

त्यसपछि अध्यक्ष ओली र सुझाव पेश गर्न बनाइएका १० वटै समूहका समूह नेताबीच छलफल गरेर महाधिवेशनमा पेश गरिने प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी छ । हिजोको बैठकमा दश वटा टोली नेतालगायत केही स्थायी कमिटी सदस्यहरुले विभिन्न बिषयमा सुझाब राखेका थिए ।

बैठकमा उनीहरूले सातजना उपाध्यक्ष राखेर प्रदेश इन्चार्जको जिम्मेवारी दिन सुझाब दिएका छन् । विधान संशोधन प्रस्तावमा भने तीनजना मात्र उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ ।

पार्टी अध्यक्षमा ओली दोहोरिँदा नेताहरू ईश्वर पोखरेल, सुवास नेम्बाङ, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतलाई व्यवस्थापन गर्न उपाध्यक्ष थप्नुपर्ने सुझाब आएको छ ।

नेकपा एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

 

 

प्रतिकृया दिनुहोस