ईपीएलमा काठमाडौंको विजयी सुरुआत, ललितपुर ७ विकेटले पराजित

Epl  ktm vs lpr

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको पहिलो खेलमा काठमाडौं किङ्स इलेभेनले जित हात पारेको छ । साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले हराएको काठमाडौंले प्रतियोगिताको सुखद सुरुआत गरेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रीयट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । 

सुरुको ९ बलमा ७ रन बनाउँदै ३ विकेट गुमाएको ललितपुरलाई युवा ब्याटसम्यानले उकास्न सफल भए । ललितपुरका लागि पवन सर्राफले ४४ बलमा ५ चौका र ४ छक्कासहित ६१ रन बनाए । सो क्रममा पवनले पाकिस्तानका लेजन्ड क्रिकेटर शाहिद अफ्रिदी र नेपालका स्टार लेगस्पीनर सन्दीप लामिछाने दुबैको बलमा छक्का समेत प्रहार गरे । दबाबका समयमा खेलेका उनले गुणस्तरीय बलरसामु सशक्त प्रदर्शन गरे ।  

यस्तै योगेन्द्र सिंह कार्कीले २० बलमा ३ छक्कासहित ३३ तथा शंकर रानाले १४ रन बनाए । भुटानी खेलाडी रनजुङ मिक्यो दोर्जीले नटआउट १७ तथा नारायण जोशीले १२ रन बनाए । काठमाडौंका जितेन्द्र मुखिया एक्लैले ४ विकेट लिए । रायन ब्रल र गुलशन झाले समान २र२ विकेट लिए । शाहिद अफ्रिदी र सन्दीप लामिछानेले कुनै विकेट लिन सकेनन् । जवाफी ब्याटिङ गरेको काठमाडौंको १४.२ ओभरमा ३ विकेट गुमाएर १६० रन बनाउँदै खेल जित्यो। 

तर काठमाडौंको सुरुआत गतिलो हुन सकेन । १२ रनमा दुई विकेट गुमाएको काठमाडौं दबाबमा आयो । तर काठमाडौंका रहमुतुल्लाह गुरबाजले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि काठमाडौं सम्हालियो । गुरबाजले आउट हुनुअघि ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए।यस्तै रायन बर्लले नटआउट ७३ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ३४ बलमा ३ चौका र ७ छक्कासहित सो रन बनाए। २७ बलमै अर्धशतक बनाएका उनले ललित राजवंशीको एकै ओभरमा १ चौका र ४ छक्का प्रहार गरे । राजु रिजालले भने १३ बलमा नटआउट १९ रन बनाए ।

ललितपुरका लागि पवन शर्राफले मात्र एक विकेट लिए । काठमाडौंका दुई खेलाडी रनआउट भए । खेलमा शानदार ब्याटिङ गरेका रायन बर्ल प्लेयर अफ द म्याच चुनिए । ईपीएलको आइतबार दुई खेल हुने तालिका छ । पहिलो खेलमा चितवन टाइगर्स र विराटनगर वारियर खेल्नेछन् भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच खेल हुनेछ । 

प्रतिकृया दिनुहोस