हिमाल आरोहीको संख्या बढ्यो, १० दिनमा २ करोड २८ लाख राजश्व संकलन      

Everest climb

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम भएसँगै हिमाल आरोहण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

हिमाल आरोहण शुल्क बापत पर्यटन विभागले १० दिनमा दुई करोड २८ लाख १३ हजार राजश्व संकलन भएको जनाएको छ ।

विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन भएको हो ।

यीमध्ये सबैभन्दा धेरै मनास्लु हिमाल आरोहण शुल्कबापत एक करोड ८० लाख, धौलागिरी हिमाल आरोहण शुल्कबापत ४२ लाख १० हजार, कञ्चनजंगा हिमाल आरोहण शुल्कबापत तीन लाख १४ हजार र मरियाङ हिमाल आरोहण शुल्कबापत एक लाख ८८ हजार संकलन भएको पर्यटन विभागले जनाएको छ ।

मरियाङ हिमाल आरोहणका लागि आठ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि तीन जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना र मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ जना गरी जम्मा २ सय ३७ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिइसकेको विभागले जनाएको छ ।

कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकको संख्या पनि बढ्दै गएको व्यवसायीहरूले जनाएका छन् । यो महिना मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ आरोहीले अनुमति लिएसँगै आधार शिविरमा भीड लाग्न सुरु भएको छ । १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमका कारण पदयात्रामा आउने पर्यटक भने बढ्न नसकेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस