आज कुशे औंसी : घरघरमा कुश भित्र्याइँदै, वुवा मुख हेर्ने दिन पनि आजै

Kushe aunshi

काठमाडौं । आज कुसे औशी पर्व मनाइदैछ । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

हिन्दु धर्म परम्परा अनुसार भदौ महिनामा पर्ने औँसीलाई कुशग्रहणी औँसी भनिन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

हिन्दु धर्मावलम्बीहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गराएको धार्मिक विश्वास छ ।

आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । औँसीमा पितृको आत्मा तृप्तिका लागि गरिने धार्मिक कार्यमा पनि कुशको प्रयोग गरिन्छ । यही कारण आजको दिनलाई कुशेऔँसी भनिन्छ ।

औँसी तिथिको दिन व्रत राख्नाले र पूजा गर्नाले पितृ खुशी हुन्छन् भन्ने धार्मिक मान्यता छ । पितृ दोषबाट मुक्ति पाउनका लागि पितृको आत्मा तृप्ति हुनु आवश्यक छ । औँसीमा पितृ दोषबाट मुक्ति पाउनका लागि विभिन्न उपाय गरिन्छ ।

त्यसैगरी आजको दिन पिताको मुख हेर्ने चलन पनि छ । पितालाई वस्त्र, फलफुल, मिठान्नलगायतका बस्तुहरु दिएर आर्शिवाद ग्रहण गर्ने परम्परा छ ।

यो वर्ष कुशे औँसीको प्रारम्भ भदौ २१ गते बिहान ८ः१० देखि प्रारम्भ भएको थियो । यसको समापन आज भदौ २२ गते बिहान ६ः५० मिनेटमा हुँदैछ । स्नान र दान आदिका लागि उदय तिथि मान्य हुन्छ, त्यसैले कुशे औँसी आज मनाइँदैछ ।

 

प्रतिकृया दिनुहोस