मन्त्रालय बाँडफाँडमा जुटेन सहमति, मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने

Bipaxi new photo


 
 काठमाडौँ । सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ पाँच दलले सहमति जुटाउन सकेका छैनन्।

असार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार डाकेको बैठकमा पनि कुरा मिल्न सकेन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको हो। मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि पाँच दलको बैठक बिना निष्कर्ष उठेको हो।

यो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच छलफल भएको थियो। 

सहमति जुट्न नसकेपछि मंगलबारै साँझ बस्ने गरी गठबन्धन बैठक उठेको छ। प्रधानमन्त्री देउवाको सचिवालयले बेलुका पनि सहमतिको प्रयास हुने बताएको छ।

मंगलबार साँझको बैठकमा पाँच दलका सभापति र अध्यक्षहरू मात्रै बस्ने तयारी छ। मन्त्रालय भागबण्डामा गठबन्धनका सदस्य नेताहरुले अडान नछाडेपछि मन्त्रिपरिषद् विस्तारको गाँठो झन् कसिलो भएको छ।

पाँच दलमध्ये कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच ६ मन्त्री र एक राज्य मन्त्री लिने करिब सहमति भएको छ। 

तर सत्तारुढ गठबन्धनले मन्त्रालयको भागवण्डा गर्न नसक्दा समस्या भएको हो। आज सहमति जुटेको अवस्थामा बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो।

सोमबार मात्रै सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्म मन्त्रिपरिषद् विस्तार भएर सरकारले गति लिने बताएका थिए।

त्यस्तै कांग्रेस नेता मीन विश्वकर्माले सोमबार नै २४ घण्टाभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका थिए।

तर सत्तारुढ दलहरु आफ्नो अडानमा कायम रहेपछि बुधबार पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून रहेको देउवानिकट स्रोतले बताएको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...