उपल्लो डोल्पामा बहुमूल्य गुम्बाको सुरक्षामा चुनौती, घरमै राखिन्छ बुद्धमूर्ति र अन्य धातु

Gumba murti

जाजरकोट । उपल्लो डोल्पामा धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक सुरक्षा नहुँदा वर्षेनी बहुमूल्य मूर्तिहरु चोरी हुने क्रम बढेको हो । शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् ।

उपल्लो डोल्पाका सर्वसाधारणलाई पुस्तौँदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बालाई जोगाउन हम्मेहम्मे परेको नागरिक अगुवा शेरबुढाले बताए । गुम्बा बौद्धमार्गीको आस्थाको धरोहरका रूपमा रहेका प्राचीन मूर्ति प्रत्येक वर्ष चोरी भए पनि चोरीमा संलग्न नभेटिएपछि समस्या हुँदै गएको बुढाले बताए ।

कानूनी प्रावधानसमेत फितलो हुँदा तस्करको मनोबल बढेको बताउँदै उनले भने, ‘नयाँ मूर्ति किन्दा लाखौँ पर्छ, पुराना मूर्ति सबैको मिलेमतोमा मूल्यहीन बनाउने देखियो । गरिबी तथा बेरोजगारलाई मूर्ति चोरी गर्ने कार्यमा प्रयोग गरी ठूला माफियासम्म पुग्ने गरेको छ । दण्ड, सजाय फितलो छ । प्रहरी निगरानी कमी, अनुसन्धान गर्ने मान्छे लामो समयसम्म बस्न नपाउनु, पहुँचवाला र चोरीको सूचना दिने व्यक्ति नै असुक्षित हुँदा समस्या भएको छ ।’

पछिल्लो पाँच वर्षयता मात्रै उपल्लो डोल्पाको शे–गुम्बा, सेलरी सोम्दो, बोन, मिखिम, गाँकर गुम्बालगायत प्राचीन गुम्बाबाट २७ थान पुरातात्विक मूर्ति चोरी भएकामा चार थान मूर्ति मात्रै बरामद भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । पाण्डेकाअनुसार २०७२ २७ मङ्सिरमा शे–फोक्सुन्डो गाउँपालिका–३ मा रहेको सेलरी सोम्दो गुम्बाबाट १३ वटा मूर्ति चोरी भएको र अझैसम्म फेला पर्न सकेको छैन । त्यसैगरी डोल्पोबुद्ध गाउँपालिका–३ मा पर्ने गाँकर गुम्बा र मेखिम गुम्बाबाट चैत २८ २०७२ को राति चार थान बुद्धका मूर्ति, बौद्ध धर्मसम्बन्धी एक थान पुस्तक चोरी भएको थियो ।

पुरातात्विक मूर्तिसँगै सुन र चाँदीको धातुद्वारा लिखित बौद्ध धर्मग्रन्थ पनि हराएका थिए । हराएका चार थान मूर्तिमध्ये तीन थान मूर्ति र एक थान बौद्ध धर्मसम्बन्धी पुस्तक प्रहरी र स्थानीयवासीको सक्रियतामा चोरी भएकै दिनमा बरामद गरिएको प्रहरीले जनाएको छ । एक थान मूर्ति अझै फेला पर्न सकेको छैन । पुरातात्विक मूर्ति र धम्रगन्थ जाँचका लागि पुरातत्व विभाग काठमाडौं लगिएको दुई वर्ष चार महिनापछि १५ साउन २०७५ मा मेखिम र गाँकर गुम्बामै स्थापना गरिएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै छार्काताङसोङ गाउँपालिका–१ मा पर्ने बोन गुम्बाबाट २८ जेठ २०७३ मा हराएको एक थान बुद्धको मूर्ति प्रहरी र स्थानीयवासीको सक्रियतामा तत्काल बरामद गरिएको थियो ।

त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत रिग्मोगाउँमा पर्ने ६०० वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट विसं २०७५ मा हराएका सात थान मूर्ति अझै पत्ता लाग्न सकेको छैन । से–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा लामाले भने, ‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीको आस्था पनि लुटेका छन्, अहिले रित्ता गुम्बामा आस्था जोगाउनुपर्ने बाध्यता छ ’। नेपालकै गहिरो शे–फोक्सुण्डो तालको छेउमै रेहेको उक्त गुम्बा तालपछिको अर्को आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको थियो । ताल पुगेका पर्यटक एकपटक गुम्बा पुगेरै फर्किने गरेको वडाध्यक्ष लामाले बताए ।

यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरूको माग छ । मन्दिर बस्तीभन्दा टाढा हुँदा बढी असुरक्षित हुने गरेको उनको भनाइ छ । मन्दिरबाट मूर्तिलगायत बहुमूल्य धातु चोरी गरेर विदेशसम्म लैजाने गरेको पाइन्छ । यस्तै १ कात्तिक २०५७ को राति डोल्पाकै त्रिपुरासुन्दरीस्थित बाला त्रिपुरासुन्दरी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

कसरी राखिन्छन् त मूर्ति ?

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन् । १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन् । विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ । कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ ।

सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन् । गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ ।

बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन् । यहाँका अधिकांश गुम्बाका सामग्री चोरी भइसकेका छन् । बाँकी सामग्री पनि हराएर गुम्बा रित्तिने अवस्था आएपछि घरमा राखिएको डोल्पोबुद्धकै स्थानीय बासिन्दा तथा गुम्बाका अध्यता ङ्वाङ लुम्डुप गुरुङले बताए । उनकाअनुसार मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका सामग्री पनि व्यक्तिका घरमा राखिएका छन् । पछिल्लो समय डोल्पाका बौद्ध गुम्बाका सामग्री चोरी हुने क्रम बढेको छ ।

गत वर्ष मात्र से फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो । जिल्लाभरबाट कति मूर्ति चोरी भए भन्ने यकिन तथ्यांक कसैसँग छैन । गुम्बामा कति बहमूल्य सामग्री तथा मूर्ति छन् भन्ने तथ्यांक पनि राज्यसँग छैन ।

तर, ९० प्रतिशतभन्दा बढी मूल्यवान सामग्री हराइसकेको गुरुङको भनाइ छ । गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएको छ ।

परापूर्वकालमा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको ठाउँमा र बौद्ध दर्शनको अध्ययनको विस्तार गर्ने उद्देश्य राखेर मुलुकको विभिन्न ठाउँमा गुम्बा स्थापना गरिएको थियो । गुम्बाभित्र सुन्दर पेन्टिङ, बहुमूल्य सामग्री तथा पुरातत्विक हिसाबले महत्व राख्ने थुप्रै दस्ताबेज राखिएका हुन्छन् ।

डोल्पा बौद्ध गुम्बा धेरै भएको जिल्लामा पर्छ। तर, बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिकाअनुसार डोल्पामा १०७ वटामात्र गुम्बा दर्ता भएका छन् ।

यहाँ सार्वजनिक भन्दा पनि निजीस्तरका गुम्बा धेरै छन् । विकट ठाउँमा धेरै गुम्बा भएका कारण प्रशासनले सुरक्षा दिन सकेको छैन । डोल्पोमा डोल्पोबुद्ध, छार्का ताङसोङ, से फोक्सुन्डोलगायत गाउँपालिकालाई निकै विकट मानिन्छ । यी गाउँपालिकालाई सडक सञ्जालले छोएको छैन । मंसिर लाग्नेबित्तिकै हिउँले ढाक्ने भएका कारण यी क्षेत्रमा मानिसको बसोबास निकै कम छ। बसोबासका लागि समेत समस्या पर्ने भएका कारण ती ठाउँका गुम्बालाई सुरक्षाकर्मीले सुरक्षा दिन सक्दैनन् ।

बौद्ध दर्शनका अध्यता तथा डोल्पो बुद्धकै स्थायी बासिन्दा डोल्पो टुल्कु रिन्पोछेले भने, ‘हिमाली जिल्लामा गुम्बाको सुरक्षा ठूलो चिन्ताको विषय बनेको छ । गुम्बाको सम्पत्ति भनेको राज्यकै सम्पत्ति हो । तर, यसमा प्रशासनले पर्याप्त चासो दिएको छैन ।’ डोल्पामा आफूले बाल्यकालमा देखेका गुम्बामा भएको सम्पत्तिमध्ये ९० प्रतिशतभन्दा धेरै हराइसकेको रिन्पोछेले बताए । गुम्बाका सामग्री चोरी हुनबाट बचाउन गाउँलेलाई नै सुरक्षा तालिम दिएर सम्बन्धित ठाउँमा खटाउनुपर्ने उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...