इण्डियन आइडल १२ को विजेता बने पवनदीप राजन

Indian idol 12 pawan

काठमाडौं । भाारतीय टेलिभिजन सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो ‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन बनेका छन् ।

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । अरुणिता उपाधीदेखि एक कदम पछि रहँदै फर्स्ट रनरअप बनिन् । त्यस्तै सायली कांबले सेकेन्ड रनरअप बन्दा मोहम्मद दानिश चौथो नम्बरमा आए । प्रतिस्पर्धाको पाँचौं स्थानमा निहाल तारो आए भने छैटौं स्थानमा शनमुख प्रिया आइपुगिन ।

भारतको उत्तर प्रदेशका चंपावतका बासिन्दा पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक बनेकी थिइन् । पवनदीपले ‘इन्डियन आइडल १२’ को ट्रफीका साथै एक स्विफ्ट कार र २५ लाख भारु पुरस्कार स्वरुप पाए ।

उत्कृष्ट ६ जनाबीच प्रतिस्पर्धा भएको इण्डियन आइडलको इतिहासमै पहिलो पटक भएको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा ५ जना कलाकारहरुबीच मात्रै प्रतिस्पर्धा हुन्थ्यो ।

यो प्रतिस्पर्धामा पवनदीप राजन मात्रै त्यस्ता गायक हुन, जसले गीत गाउनुका अलावा थुप्रै सांगितिक बाद्ययन्त्रहरु पनि बजाउँछन । उनले सांगीतिक ज्ञान आफ्ना पिता सुरेश राजन र काका सतिस राजनबाट पाएका हुन । पवनदीपका पिता सुरेश राजन कुमाउँ क्षेत्रका लोकप्रिय गायक हुन । पवनका हजुरबुवा स्वर्गीय रति राजन पनि लोकप्रिय लोक गायक थिए ।

प्रतिस्पर्धाकै क्रममा निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको प्रतिक्रिया दिएका थिए ।

फाइनल प्रतिस्पर्धा अन्तर्गतको भब्य सांगितिक समारोहमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, द ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी र जावेद अली पनि सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस