नेपाली कांग्रेसमा नयाँ वैधानिक व्यवस्थाः क्रियाशील सदस्य गाउँ–नगरको सभापति उम्मेदवार बन्न नपाउने    

Congras  baneshor

काठमाडौँ । पटक पटक सार्दा पनि महाधिवेशन गर्न नसकेको नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पिँधको संगठनमा नेतृत्व चयन व्यवस्थालाई बदल्ने भएको छ ।

संशोधनसहित लागु गरिने विधानमा अब गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चुन्ने अधिकार क्रियाशील सदस्यमा नरहने भएको हो ।

ती निकायको कार्यसमिति चुन्ने अधिकार अब क्रियाशील सदस्यलाई नदिएर सम्बन्धित वडा सभापति र क्षेत्रीय प्रतिनिधिलाई मात्रै गाउँ तथा नगर अधिवेशनको मतदाता बनाइने भएको हो ।

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनको निर्णय गर्दै १४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार बन्ने अधिकार अब क्षेत्रीय प्रतिनिधिलाई हुने भनिएको हो ।

क्रियाशील सदस्यले सभापतिबाहेक कार्यसमितिका अरु पदाधिकारी र सदस्य पदमा भने उम्मेदवार बन्न पाउने छन् ।

नयाँ व्यवस्थामा अब ‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ निर्णय केन्द्रीय समितिबाट भएको छ ।

यसैगरी, अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा पनि पूर्ववत व्यवस्था बदल्दै वडा सभापति र क्षेत्रीय प्रतिनिधिले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वबारे निर्णय गर्ने भनिएको छ ।

प्रतिकृया दिनुहोस