पार्टी एकताका लागि भन्दै ओलीले गरे १० मिनेटमै  स्थायी कमिटी बैठक स्थगित  

Kp oli 98 69 0

काठमाडौँ । एकताको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले करबि १० मिनेट सञ्चालन गरेर स्थायी कमिटी बैठक स्थगित गरेका छन् ।

शनिबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको थियो ।

बैठकमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरु उपस्थित भएपछि ओलीले कार्यदलका पूर्वसदस्यहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गरिरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि उनले बैठक स्थगित गरेका हुन् ।

विघटित कार्यदलका सदस्यहरु भने ओली र नेपालको अन्तिम वार्ताका लागि पहल गरिरहेका छन् ।

स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको हो ।

बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको उनको भनाई छ । नेताहरूले आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने बताएका छन् ।

बैठकपछि नेता सुवास नेम्वाङले भने, ‘स्थायी कमिटीको बैठकमा अहिलेको पार्टीको एकताको सन्दर्भमा भइरहेका प्रयासहरुको बारेमा मैले जानकारी गराएँ । आज मात्रै पनि हामीले यससम्बन्धी छलफल अघि बढाएको र यसैको आधारमा पार्टीलाई एकताबद्ध बनाउन प्रयास अगाडि बढाइएको मैले जानकारी गराएँ । त्यसपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ ।’

उपाध्यक्ष भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेको नेता नेम्वाङले जानकारी दिए । उनले भने, ‘आजको लागि अरु विषयमा प्रवेश नगरी स्थगित गरिएको छ । पार्टी एकताको सन्दर्भमा हामी निरन्तर लागिरहेका छौँ । प्रयासहरु अघि बढाएका छौँ । आजै बिहान पनि सिंहदरबारमा बस्यौँ । हिजो कार्यदलमा रहेका स्थायी कमिटीका केही साथीहरु बसेर छलफल गरेका थियौँ । पार्टी एकतालाई कसरी ठोस निष्कर्षमा पुर्‍याउने लगायतका बारेमा छलफल गरेका थियौँ ।’

प्रतिकृया दिनुहोस