दलका नेताहरुलाइ संसदमा उपस्थितिका लागि ह्वीप नगलाएको तर अनुरोध मात्र गरेको : प्रधानमन्त्री देउवा

Sher bahadur deuwa

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई संसदमा उपस्थितिको लागि ह्वीप नगलाएको तर अनुरोध मात्र गरेको बताएका छन् । साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन दलका सांसदहरुलाई अनुरोध मात्र गरिएको उनले प्रष्ट पारेका हुन ।

प्रतिनिधिसभा बैठकमा शुभकामना दिने क्रममा उठाइएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीभित्र अनुशासन चाहिने तर अरु दलभित्र अनुशासन नचाहिने यो कस्तो प्रणाली हो रु टिप्पणी गर्नुभएपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले सो कुरा बताए ।

कोभिड खोपका लागि सरकार लागिपरेकाले जनताका लागि सकेसम्म खोपको व्यवस्था गर्ने बताएका छन् । आफू नेतृत्वको सरकारले सकेसम्म देखिने काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे । आफू नेतृत्वको सरकार गठबन्धन दलको सरकार भएकाले सबैको सहयोग र सहकार्यमा काम हुने बताएका छन् । आफूलाई मतदान दिई प्रधानमन्त्री बनाउनुभएकोमा उनले सबै सांसदहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

संसद बैठकमा दलको तर्फबाट नवनियुक्त प्रधानमन्त्री देउवालाई सांसदहरुले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । बधाई दिनुहुने सांसदमा एमालेबाट सुवासचन्द्र नेम्वाङ, काँग्रेसबाट प्रकाशमान सिंह, माओवादी केन्द्रबाट हरिबोलप्रसाद गजुरेल, जसपाबाट महेन्द्र राय यादव र अनिलकुमार झा, नेमकिपाबाट प्रेम सुवाल, राष्ट्रिय जनेमोर्चाबाट दुर्गा पौडेल, राप्रपाबाट राजकुमार लिङदेनले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गरेका हुन ।

प्रधानमन्त्री देउवाले संसद बैठकमा महालेखा परीक्षकको सन्ताउन्नौं वार्षिक प्रतिवेदन २०७७ पेश गरेका छन् । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७८ संसद बैठकमा पेश गरेका हुन । अर्को बैठक १२ गते मंगलबार १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्नीप्रसाद सापकोटाले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस