विपक्षी गठबन्धनलाई बलियो बनाउँदै निरन्तरता दिने कांग्रेसको निष्कर्ष

Congress meeting

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको केन्द्रिय कार्य समितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको मूल मर्ममाथि प्रहार गरेकाले संविधान र लोकतन्त्र रक्षा गर्न विपक्षी गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।

डा. महतले भने, ‘ओली सरकारबाट एकपछि अर्को गरेर संविधानलाई कमजोर बनाउने प्रयास भएको छ। संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गर्दा देउवाले १४९ सदस्यसहित दावी गर्दा ओलीलाई निरन्तरता दिने र प्रतिनिधि सभा विघटन गर्ने निर्णय भयो । त्यसका विरूद्ध सशरीर उपस्थित भएर मुद्दा दायर भएको छ। गठबन्धनमा अन्य दलहरूलाई जोड्ने र संविधान र लोकतन्त्रलाई बलियो बनाउन लोकतन्त्रमा आस्थावान अन्य दललाई पनि जोड्दै लगेर गठबन्धन बलियो बनाउने निर्णय भएको छ ।’

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

बैठकले नेपाली कांग्रेसको संशोधित कार्यतालिकासमेत पारित गरेको छ। आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव बैठकले पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँरनगर र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नुपर्ने भएको छ ।

यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्नुपर्ने भएको छ ।

यसअघि असार ५ मा वडा, ७ मा गाउँ/नगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, साउन ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र साउन ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका थियो । महाधिवेशन भने भदौ ७ देखि सुरु गर्ने कार्यतालिका थियो ।

बैठकले महाधिवेशनका लागि असार मसान्तभित्र क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशनसमेत दिएको छ ।

प्रतिकृया दिनुहोस