गण्डकी प्रदेश : पृथ्बी सुब्बा ‘आउट’, प्रदेशमा कांग्रेसको पहिलो ‘इन्ट्री’

Krishna pokhrel gandaki

पोखरा । लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका उम्मेद्वार कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिए ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।

पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । गुरुङले पनि आज मुख्यमन्त्रीमा दाबी पेश गरेपछि अन्योल उत्पन्न भएको थियो । यद्यपि, प्रदेश प्रमुखले गुरुङको दाबीलाई अस्वीकार गर्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गण्डकीको नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २००६ साल मंसिरमा जन्मिएका पोखरेल ७१ वर्ष पुगेका छन् । उनी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् भने उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

यसबीच प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । पोखरेलको इन्ट्रीसँगै प्रदेशमा पहिलोपटक नेपाली कौग्रेसले सत्ता सम्हालने मौका पाएको छ ।

प्रतिकृया दिनुहोस