सुर्खेतको राउटे बस्तीमा गरियो सिल, पीडितलाई नै राउटे समुदायले अस्वीकार गर्ने चिन्ता

Raute basti

सुर्खेत । राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा प्रवेशमा रोक लगाएको छ ।

पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएको हो ।

राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ ।

केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए ।

आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।

प्रतिकृया दिनुहोस