कोरोनाले वागमती प्रदेश सभाका सांसद पशुपति चौंलागाईको निधन

Pashupati chaulagain

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ । कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको उपचारकै क्रममा निधन भएको हो ।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उनीहरु होम आइसोलेसनमा छन् । 

चौलागाईंले वैशाख २१ गते सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा थप जटिलता देखिएपछि अस्पताल भर्ना भएका थिए ।

एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् ।

उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो ।

एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री श‌ंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायतका एमाले नेताले चौलागाईंको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस