नेपाल-खनाल पक्षको बैठक जारी, २ सांसद जंगिँदै बाहिरिए

Nepal baithak 27

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको हो ।

बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समयसीमाको विषयमा छलफल हुँदैछ । बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।

खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । यस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् ।

खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

यद्यपि नेकपा एमालेको माधव कुमार नेपाल पक्षका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा २१ सांसद उपस्थित भएका थिए ।

बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि दुई सांसद असन्तुष्टि जनाउँदै बैठक बीचमै हिँडेका हुन् । ती सांसदमा​ पार्वतीकुमारी विशुन्खे र समिना खातुन रहेका छन् ।

प्रतिकृया दिनुहोस