प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन । सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव लैजान लागेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आज दिउँसो १ बजेका लागि संसदको अधिवेशन आह्वान गरेकी थिइन् ।

यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रस्ताब टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्न्त्री ओलीले जवाफ दिनेछन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन गाह्रो हुने देखिएको छ । नेकपा एमालेले ह्वीप जारी गर्दै सबै सांसदलाई प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्न भनेको छ । तर एमालेभित्र विवाद उत्कर्षमा पुगेकोले माधव नेपाल पक्षका सांसदले मतदान गर्छन् कि गर्दैनन् यकिन छैन ।

नेता नेपाल पक्षले आज बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई आफूहरूका माग सम्बोधन गर्न समय दिएका छन् । गत फागुन २८ का निर्णयबाट पछि हट्दै ओली २०७५ जेठ २ को अवस्थामा पार्टीलाई पुर्‍याएर क्रियाशील बनाउनुपर्ने पक्षमा नेपाल पक्ष छ । तर यो मान्न ओली तयार भएको देखिदैन् । निरन्तर तीन दिन दुर्व पक्षका दोस्रो तहका नेताहरु सम्वादमा रहेपनि सहमती भने भएको छैन् ।

यसैबीच आइतबार राती नेता नेपालले ६ बुँदे पत्र लेख्दै आफूहरूले उठाएका माग पूरा नभए सामूहिक राजीनामा दिने बताएका छन् । साथै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने बताएका छन् । जनता समाजवादी पार्टीले ह्वीप जारी नगरे पनि ओलीका पक्षमा मत नदिने स्पष्ट गरेको अध्यक्ष उपेन्द्र यादव बताउँछन् ।

जसपामा अध्यक्ष महन्थ ठाकुर पक्ष ओलीलाई नै निरन्तरता दिनुपर्नेमा थियो । तर आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ठाकुरले आफूहरू तटस्थ बस्ने बताएका थिए ।

 

प्रतिकृया दिनुहोस