गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार बनाउन आह्वान

Prathivesuga gurung e1577236361925

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर आफूविरुद्ध अविश्वास प्रस्ताव आउन लागेको थाहा पाएपछि सरकारले बैशाख १ को मध्यरातिबाटै चालु हिउँदे अधिवेशन अन्त्य गरिदिएको थियो ।

अविश्वास प्रस्ताव दर्ता गरेकै दिन विपक्षी मोर्चाले विशेष अधिवेशन माग्दै प्रदेश प्रमुख समक्ष समावेदन गरेका थिए । सोही समावेदनका आधारमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ मा विशेष अधिवेशन बोलाएका थिए ।

अविश्वास प्रस्तावमाथि बैशाख १५ मा मतदान हुने कार्यसूची रहेकोमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले अधिवेशन अनिश्चितकालीन स्थगीत गरेका थिए । त्यसपछि सोमबारलाई अविश्वास प्रस्तावमाथि मतदान गर्ने दिन तोकिएको थियो । उनले राजीनामा दिएका हुन् ।

यता, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गरेकी हुन् ।

गण्डकी प्रदेशमा कुनै दलको एकल बहुमत नभएकाले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको सहभागितामा बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् ।

 

प्रतिकृया दिनुहोस