भीमेश्वर मन्दिरको शिलामा फेरि आयो ‘पसिना’

Bhimsen mandir

दोलखा । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।

शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए ।

गत मंसिर ९ गते मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक पटकको समयमा मन्दिरको पसिना आएको थियो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

आइतबार राष्ट्रपति कार्यालयमा महाप्रसाद पठाइने र त्यसपछि मन्दिरमा क्षमा पूजा गरिने उपाध्यक्ष श्रेष्ठले बताए। राजाको पालामा पसिना आउँदा भने राजदरबारबाट क्षमा पूजाका लागि पञ्चबली पठाउने चलन रहेको थियो ।

प्रतिकृया दिनुहोस