राष्ट्रियसभा सदस्यको उपनिर्वाचन : एमालेलाई उम्मेदवार बनाउन सकस, खिमलाल पुगे हेटौडा

Kp oli 19

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ । मनोनयनको अन्तिम समयसम्म पनि सत्तारुढ दल नेकपा एमालले उम्मेदवार चयन गर्न सकेको छैन ।

विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएको भोलिपल्टै बादल चुनाव लड्न हच्किएका छन् । एमालेले स्थितिको विश्लेषण गरेर मात्रै उम्मेदवार तय गर्ने बताएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले डा. देवकोटालाई उम्मेद्वार बनाएका छन् । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ ।

बादललाई उम्मेदवार बनाउँदै गर्दा वागमती प्रदेशमा एमालेलाई चुनौती दिने भोट विपक्षी गठबन्धनसँग थिएन । यही कारणले बादल चुनाव जितिनेमा ढुक्क थिए । किनभने, राष्ट्रियसभाको चुनावमा मतदान गर्ने वागमतीका ११० प्रदेश सांसदमध्ये एमालेसँग एक्लै ५७ जना थिए । ४८ मतभार भएका ५७ प्रदेश सांसदको यो उपस्थितिले एमालेको जित सुनिश्चित थियो ।

बादलको प्रतिद्वन्द्वी रुपमा खडा भएका डा. देवकोटा एमाले समर्थित वाम बुद्धिजीवी हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेका बेला तुइन विस्थापनको आइडिया दिने विज्ञका रुपमा रहेका देवकोटा यसअघि वागमती प्रदेशको योजना आयोगमा उपाध्यक्ष रहिसकेका व्यक्ति हुन् ।

यसरी माधव नेपाल समूहले बादलको विकल्पमा उम्मेदवार खडा गरेपछि आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा नेकपा एमालेको ओली पक्षले पराजय व्यहोर्ने निश्चित भएको छ । अब उसले बादलको ठाउँमा कसलाई खडा गर्छ, त्यो आजै टुंगो लाग्ने छ । किनकि, आज उम्मेदवारी दर्ताको दिन हो ।

तर, यतिबेला सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई बालुवाटारमा बोलाएका छन् । वाग्मती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई बालुवाटार बोलाएका हुन् ।

उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्वारबारे टुंगो लगाउन स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफलका लागि अध्यक्ष ओलीले बालुवाटार बोलाएको नेता सुवास नेम्वाङले जानकारी दिए । राष्ट्रियसभाको उम्मेद्वारबारे छलफल गर्न बोलाइएको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

यसैबीच विपक्षी गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एमाले खनाल नेपाल समूह र जसपा) का उम्मेदवार डा. खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।

बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको हो । निर्वाचन जेठ ६ गते हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय छुट्याइएको छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेद्वार बन्नका लागि कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस