माओवादीले बल्ल फिर्ता लियो सरकारलाई दिएको समर्थन

ओलीले विश्वासको मत लिने निर्णय राजनीतिक उद्देश्य राम्रो नरहेको निष्कर्ष

Maobadi miting

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले पार्टीले सरकारलाई दिएको समर्थन लिएको छ ।

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको निष्कर्षसमेत निकालेको छ ।

पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरे पनि बैठक सक्दा बेलुकाको पाँच बजिसकेका कारण बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाउने तयारी गरेको छ ।

यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

२७५ सदस्यीय प्रतिनिधि सभामा हाल मतदानमा सहभागी बन्न पाउने सांसद २७१ जना छन् । माओवादी केन्द्रका ५३ जना सांसद भए पनि चार जना पार्टी परित्याग गरेकाले माओवादीसँग हाल सभामुखसहित ४९ जना सांसद मात्रै छन् भने एमालेका १२१ सांसद छन् ।

नेपाली काँग्रेसका ६३ मध्ये २ जना (विजयकुमार गच्छदार र अफताब आलम) निलम्बित छन् । जनता समाजवादीका ३४ मध्ये २ जना (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बन मै छन् ।

साना दलहरूबाट मजदुर किसान पार्टी, राप्रपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन् । जसमा गणना हुने सांसदको संख्या २७१ हुन पुग्छ । २७१ मध्ये बहुमतका लागि १३६ सांसद आवश्यक पर्छ ।

एमालेकै माधवकुमार नेपाल समुहका सांसदहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अघि नै सामुहिक राजीनामा दिने तयारी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस