खेलकूद विकासका लागि सरकार अग्रसर छ : मन्त्री तामाङ

Dawa1618035389

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदको विकासका लागि सरकारले विभिन्न योजना अगाडि सारेको बताएका छन् । नेपाल सोतोकान कराते डो एशोसियसन (एसकेडियुएन) भक्तपुरले आज आयोजना गरेको चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को उद्घाटन गर्दै उनले खेलसँगै खेलाडीको भविश्य पनि सुनिश्चित हुनुपर्ने बताए ।

मन्त्री तामाङले नेपालमा खेलको विकास हुँदै आएको चर्चा गर्दै सरकारले खेलका माध्यमबाट पनि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकूदको विकासमा कदम चालेको बताए । स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकूद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनकरुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए । स्थानीयस्तरबाटै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।

देशभरका सात वटा सोतोकान करातेका ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगिता आज दिनभर चल्ने र साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्ने एशोसियसनका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

एशोसियसनले हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकूदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा अग्रसरता देखाउँदै आएको बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ भने फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ट खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै उहाँले प्रतियोगितामा रु पाँच लाख खर्च हुने एशोसिएसनका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस