कांग्रेसले सरकारका विरुद्ध बल्ल मुख खोल्यो, आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने

Nepali congress cc meeting

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । र, आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठक अगाडि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच भएको छलफलमा लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति जुटेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक भेटेर आग्रह गर्दै आएका थिए । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसको शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

१७ वैशाख २०७७ मा यो सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको ठहर गरेको स्मरण गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संविधान र जनविरोधी क्रियाकलाप जारी राख्यो र हुँदाहुँदा दलभित्रको द्वन्द्व हल गर्ने क्षमता नराखेर प्रतिनिधिसभा विघटन गर्ने असंवैधाकि कदम चाल्यो ।’

दाहालले कांग्रेस र जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा आएका दलहरुबीच सरकार बनाउने एकमत हुनासाथ आफ्नो पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएका छन् । माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन ।

 

प्रतिकृया दिनुहोस