‘काम गर्दागर्दै पनि जनतामा निरासा छाउनु हाम्रा लागि पनि दुर्भाग्यको कुरा हो’

Manoj rai  interview nishannews

धनकुटाको सहिदभुमी ऐतिहासिक गाउँपालिका हो । पञ्चायती शाषणविरुद्ध आवाज उठाउने थलो हो यो भुमी । पञ्चायती कालरात्रीको विरोध गर्दा १६ जनाले सहादत प्राप्त गरेको भुमी हो सहिदभुमी गाउँपालिका । यही भुमीका अध्यक्ष हुन् मनोज राई । २०३४ साल असोज २४ गते साविकको आँखिसल्ला, थलथले जन्मिएका राई लामो समयसम्म विद्यार्थी राजनीतिमा होमिए । प्रस्तुत छ, केही समय शिक्षण पेशामा पनि आवद्ध थिए भने सामाजिक काममा उत्तिकै सक्रिय रहँदै आएका राईसँग गाउँपालिकाको विकास र आगामी योजनाका विषयमा निशान न्युज डटकमका गोपाल बराइलीले गरेको कुराकानी :

तपाई सहिदभुमी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको ३ वर्ष भइसक्यो । कस्तो अनुभव संगाल्नु भयो ?
स्थानीय तहमा यो पहिलो अनुभव पनि हो । देश पहिलोपटक संघीयतामा गएपछि बनेको स्थानीय संरचनामा काम गर्न त्यति सजिलो थिएन । संविधानले उल्लेख गरेका तीन तहका सरकारका हक अधिकारलाई प्रयोग गर्ने सन्दर्भमा जनतालाई गाउँगाउँमा सिंहदरबार आएको महसुस गराउनु हाम्रो कर्तव्य थियो । त्यसका लागि जतालाई गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई सार्थक बनाउन प्रयास पनि भएको हो । मुख्य कुरा, हामी नयाँ नौलो अवस्थामा आउँदा जनप्रतिनिधि भएर आउँदा जनताका सबै आशा र जनतासमक्ष गरिएका सबै प्रतिवद्धता पूरा गर्न सकिन्छ भन्ने लाग्थ्यो । जिम्मेवारी पाएपछि विकास निर्माणका काममा आमुल परिवर्तन गर्न सकिन्छ, सहिदभुमी गाउँपालिकाका जनतामा सम्पूर्ण आवश्यकता पूरा गर्न सक्छौं भन्ने ठानेको थिएँ । तर त्यति सजिलो नहुँदो रहेछ । विभिन्न बाधा, अवरोध र समस्या हुँदो रहेछ । हामीले जिम्मेवारी लिएको तेस्रो वर्ष पार गरिरहँदा जनताले जे जति चाहाना राखेका हुन्छन्, त्यो सबै हामीले पूरा गर्न नसक्ने रहेछौं भन्ने अनुभव भयो । तैपनि हामी निरन्तर प्रयास गरिरहदाँ हामी उपलब्धीनजिक पुग्न सक्छौं भन्ने लागेको छ ।

स्थानीय निकाय गठन भएको तीन वर्ष पूरा भइसक्यो । निर्वाचनका बेला गाउँगाउँमा सिंहदरबारको नारा खुबै लाग्यो । के जनताले गाउँमा सिंहदरबार पुगेको अनुभुती गरे त ?
वास्तावमा देश संघीय शाषन व्यवस्थामा गइसकेपछि केही हदसम्म जनतालाई काम गर्न सहज भएको छ । यद्यपि केही अफ्ठयाराहरु पनि छन् । अहिले पनि अधिकार बाडफाडमा केही विवादहरु छन् । त्यो विवादहरु रहिरहँदा साच्चै हामी हिजो हामीले कल्पना गरेका गाउँगाउँमा सिंहदरबार पुगेको र स्थानीय तहबाटै जनताका आधारभूत आवश्यकताहरु पूरा हुनुपर्नेमा त्यो नभई सकेको होकी भन्ने पनि लाग्छ । यद्यपि हामीले जनताको पक्षमा गर्नुपर्ने कामहरु गरिरहेकै छौं । पहिलेको तुलनामा अहिलेसम्म स्थानीय तहमा धेरैभन्दा धेरै बजेट आएको छ, यो सकारात्मक छ । जसले जनताका काम गर्न सजिलो त भएको छ, तर त्यो पर्याप्त चाँही होइन । अहिले तीन तहका सरकारबीच उचित समन्वय भयो भने पक्कै पनि जनताले गाउँगाउँमा सिंहदरबार पुगेको अनुभुती गर्नेछन् ।

अहिलेसम्म गाउँगाउँसम्म सिंहदरबार पु¥याउन तपाईहरुलाई कसले रोक्यो र ?
हिजो हामी केन्द्रिकृत एकात्मक राज्यसत्ताको विरुद्ध लड्यौं । त्यसरी लड्दा देशलाई संघीयताका लगेपछि मात्रै अधिकारहरु विकृन्द्रिकृत हुन्छन् र जनताले सहजरुपमा आफ्नो सरकार आफ्नो घर आँगन अगाडी नै प्राप्त गर्छन् भन्ने हाम्रो बुझाई थियो । यद्यपि हिजो केन्द्रिकृत व्यवस्था थियो । त्यसको अवशेष अझैं बाँकी छ । स्थानीय तहले केही काम गर्न सक्दैनन् कि भन्ने केन्द्रिकृत मानसिकताका कारण स्थानीय तहलाई अधिकार दिन इन्कार गरेको पाइन्छ । जसका कारण पनि ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारालाई सार्थ बनाउन सकिएको छैन । यसलाई चिर्दै अबका दिनका जनतालाई गाउँगाउँमा सिंहदरबार आइपुगेको महसुस गराउनु हाम्रो कर्तव्य नै हो ।

तर, स्थानीय संरचना बनेको यतिका समय भइसक्दा पनि जनताले गाउँगाउँमा सिंहदरबार आएको अनुभुती गर्नुको सट्टा सीमित व्यक्तिले मात्रै अधिकार पाएको गुनासो बढिरहेको छ । तपाईलाई के लाग्छ ?
जनतामा गुनासो बढ्नु स्वभाविकै हो । हिजो हामीले गणतन्त्र आएपछि, स्थानीय तह बनिसकेपछि जनताका आधारभुत आवश्यकताहरु सबै पूरा हुन्छन् । जनताका आम समस्याहरु पूरा गर्न सकिन्छ र जनतालाई सुखी र समृद्ध बनाउन सकिन्छ भनेर जुन प्रचार गरेका थियौं, त्यो प्रचारका आधारमा जनताले धेरैभन्दा धेरै अपेक्षा गरेका छन् । जनताले हरेक हिसावबाट अर्थात्, विकास निर्माण, सुशासन र अधिकार प्राप्तीको सवालमा आमूल परिवर्तन हुन्छ भन्ने सोचेका थिए । तर, त्यो एकैपटकमा सम्भव नहुँदो रहेछ । हामीले प्रयत्न गर्दागर्दै पनि उहाँहरुको चाहाना पूरा नहुँदा गुनासो, आक्रोस र असन्तुष्टी बढ्नु स्वभाविकै हो । मलाई पनि विभिन्न समस्याका कारण जनताका आधारभूत काम गर्न नसकेको भान भएको छ ।

तपाई त स्थानीय सरकारको प्रमुख पनि हो । जनताका आधारभूत काम गर्न कसले रोक्यो र ?
नेपालको संविधानको अनुसुची ८ मा तोकिएका २२ वटा स्थानीय तहका एकल अधिकारबाहेक अन्य अधिकारहरु पनि स्थानीय तहसँग सुरक्षित छन् । सोही बमोजिक केही ऐन र नियमहरु बनायौं । तर, एकल अधिकारहरु पनि संघीय सरकारले कटौती गरेको छ । संघीय सरकार र प्रदेश सरकारबाट सामान्य टुक्रे बजेट मात्रै दिने र ठूला आयोजना नदिँदा पनि कतिपय अवस्थामा जनताले चाहे जस्तो काम हुन सकिरहेको छैन । अझ हामीले जसरी काम गर्नुपर्ने हो, त्यो ढंगबाट काम गर्न कठिनाई भएको छ । जुन कारण पनि जनताबाट गुनासो आउनु स्वभाविक हो भन्ने लाग्छ । यद्यपि हामीले जनतालाई खुसी बनाउन, सुखी र समृद्ध बनाउन आ–आफ्नो तवरबाट काम गरि नै रहेका छौं ।

तपाई सहिदभुमी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएको तीन वर्ष पूरा भइसक्यो । तपाईले यो अवधीमा गाउँपालिकाको विकासका लागि के काम गर्नुभयो ?
हामी स्थानीय तहमा निर्वाचित भइसकेपछि सुरुमा गाउँपालिकाभित्र के के काम गर्ने ? के गर्दा जनताका आकाक्षा के के हुन् ? सहिदभुभी गाउँपालिकामा गर्नुपर्ने कामहरु के के हुन् भने पहिचान गर्ने काम ग¥यौं । जनताका आवश्यकता के हुन् भनेर पहिचान गर्दाे प्राथमिकताका आधारहरु तय गरेका थियौं । धेरैजसो पूरा भइसकेका छन् । केही बाँकी छन्, जुन हाम्रो कार्यकालमा पूरा हुन्छन् ।

जसरी नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने राष्ट्रिय संकल्प गरेको छ, त्यसलाई सार्थक बनाउन आधारभूत तहमा काम गर्दै अघि बढेका छौं । हामीले सहिदभुमी गाउँपालिकाको तर्फबाट ‘सहिदभुमीको समृद्धि : शिक्षा, स्वास्थ्य, पर्यटन र कृषी’ भन्ने नारा तय गरेका छौं । त्यो सार्थक बनाउँदा नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने राष्ट्रिय संकल्पलाई पूरा गर्न सहयोग पुग्छ भन्ने हेतुले काम गरिरहेका छौं ।

यो ३ वर्षको अवधीमा निक्कै महत्वपूर्ण कामहरु गरेका छौं । गाउँपालिकाभित्रका धेरै बाटोहरु ग्राभेल गरेका छौं । कृषीमा पनि उत्तिकै लगानी बढाएका छौं । शिक्षा र स्वास्थ्यमा पनि लगानी बढाउँदै गका छौं । अन्य विकासका पूर्वाधारको क्षेत्रमा पनि उत्तिकै काम गरेका छौं । उत्पादन र रोजगारीको क्षेत्रमा पनि उत्तिकै काम गरेका छौं । यो ३ वर्षको अवधीमा गरिवी घटाउन उत्पादनशील क्षेत्रलाई नै प्राथमिता दिइएको छ । संघीय सरकार र प्रदेश सरकार कै कामलाई निरन्तरता दिन फुसको छानो हटाएर सुरक्षित बस्ती निर्माणको काममा पनि उत्तिकै सक्रिय रुपमा लागेका छौं । त्यस्तै गरिवी हटाउन ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रम पनि राखेका छौं र यो कार्यक्रममार्फत गाउँपालिका क्षेत्रभित्र रहेका आदीवासी, विपन्न र दलित समुदाय, एकल महिला र वृद्धवृद्धालाई प्राथमितामा राखेर काम गरिरहेका छौं ।

सहिदभुमीको छिन्ताङ त्यसै पनि ऐतिहासिक भुमी हो । छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदहरुको सम्मानका लागि गाउँपालिकाले के कार्यक्रम बनाएको छ ?
पञ्चायती तानाशाही शाषण व्यवस्थाका विरुद्ध लड्ने क्रममा १६ जनाले सहादत प्राप्त गर्नुभयो । उहाँहरुका लागि हाम्रै पहलमा प्रदेश सरकारबाट सहिद परिवारलाई आर्थिक सहाहयत उपलब्ध गराउने काम भएको छ । त्यसका अलावा विभिन्न समयमा विभिन्न कार्यक्रमहरु प्नि सञ्चालन गर्दै आएका छौं । सहिद परिवारलाई विभिन्न तालिमहरु दिने र आयमुलक काममा लगाउने काम भइरहेको छ । सहिद परिवार, आस्थाका बन्दी, सशस्त्र द्धन्द्धका क्रममा सहादत प्राप्त गर्ने सहिदका परिवारलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएका छौं ।

तपाई अध्यक्ष भएको समय घर्किरहेको छ । अब जति समय छ, आफ’ निर्वाचनमा उम्मेदवारी दिने बेला बोलेका प्रतिवद्धता पूरा गर्न सक्नुहुन्छ त ?
हामी निर्वाचनमा होमिँदा पार्टीले घोषणा पत्र जारी गरेको थियो । त्यो घोषणा पत्रमा उल्लेख भएका धेरै कुराहरु हामीले पूरा गरिसकेका छौं । मैले बेलाबेला त्यो घोषणा पत्र हेर्ने गरेको छु । र कतिपय पूरा गर्ने चरणमा पनि छौं । अबको दुई वर्षको अवधीमा हामी हाम्रो चुनावी घोषणा पत्रमा उल्लेख गरिएका सबै पूरा गछौं । यद्यपि जनताह जुन ढंगबाट खुसी हुनुपर्ने हो, त्यति खुसी नभएको हो की भन्ने मलाई त्यो महसुस भएको छ ।

त्यसरी जनतामा खुसीको सञ्चार नहुनुमा त तपाईहरु नै जिम्मेवार हुनुपर्ने होइन र ?
यसरी काम गर्दागर्दै पनि जनतामा निरासापन छाउनु हाम्रा लागि पनि दुर्भाग्यको कुरा हो । हाम्रो चाहना भनेको जनतालई खुसी र समृद्ध बनाउने नै हो । यद्यपि जनताहरु किन खुसी छैनन् भनेर सोच्नुपर्ने बेला भएको छ । कतिपयको त व्यक्तिगत स्वार्थ पनि जोडिएका छन् । व्यक्तिगत स्वार्थ पूरा नहुँदा पनि उहाँहरु खुसी नबनेको अवस्था हो । खासगरी हामीले पनि नीतिगत रुपमा प्रणालीको विकास गर्न सकेनौं । त्यो कारण पनि हामी र स्यम् जनता बेखुसी हुनुपरेको छ । अर्काेकुरा हामीले स्थानीय तहले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जनतालाई बुझाउन नसक्नु र सीमित स्रोत साधनबाट जनताको आकाक्षा पूरा गर्न नसक्नु पनि अर्काे कारण हो ।

अबको निर्वाचनसम्म आइपुग्दा अघिल्लो निर्वाचनमा बोलेको कुरा तपाई र तपाईको पार्टीले पूरा गरेन, हामी तपाई र तपाईको पार्टीलाई भोट दिन्नौं भन्ने अवस्था आउला कि नआउला ?
जनताको त्याग र तपस्या भनेको दिगो शान्ति र विकासकै निमित्त हो । अहिले हामीले त्यसकै निमित्त काम गरिरहेका छौं । काम गर्ने दौरानमा केही समस्या आए पनि जनताका अधिकांस कामहरु पूरा भइसकेको हुनेछन् । त्यस्तो अवस्थामा पक्कै पनि जनताले फेरि पनि हाम्रो कामको मुल्यांकन गरिदिने नै छन् । यो कुरामा म ढुक्क छु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सत्ता र शक्तिको आडमा यसरी ठग्दैछन् माउन्ट कैलाश हाइड्रोपावरका अध्यक्ष भरत खड्का र प्रवन्धक वसन्ती शाही

Bharat khadka vasanti kumari shahi

काठमाडौं । माउन्ट कैलाश हाइड्रोपावर, मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गत कोबाङ र टुकुचेमा निर्माण ...